२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

सहारा हाफ म्याराथनको तयारी पूरा


बिर्तामोड, चैत २० । झापाको चारपानेमा भोलि चैत २१ गते हुने सहारा हाफ म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीका अनुसार खुला महिला तथा पुरुष हाफ म्यारथनमा पाँच सय धावकको सहभागिता रहनेछ ।

आयोजकले प्रस्थान विन्दुमा गेट निर्माण गरिसकेको छ भने ट्र्याक निर्माण गरेर दौडने बाटो नापिसकेको जनाएको छ ।

त्यस्तै, प्रतियोगिताका लागि ५० जना प्राविधिक स्वयमसेवक तयारी अवस्थामा रहेको प्रमुख निर्णायक लोकप्रसाद ओलीले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न ३० जना रेफ्री तथा निर्णायकको तालिम पनि सम्पन्न भइसकेको नेपाल एथलेटिक्स संघका केन्द्रीय उपाध्यक्ष कुमार श्रेष्ठले बताए ।

नेपाल एथलेटिक्स संघबाट मान्यताप्राप्त सहारा हाफ म्याराथन झापामा पहिलोपटक हुन लागेको हो ।

नेपालकै सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी संस्था सहारा नेपाल साकोसले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा पारेर हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको हो ।

झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा संस्थाको अतिरिक्त क्रियाकलाप उपसमितिले प्रतियोगिता आयोजना गरेको हो ।

संस्थाको मुल कार्यालयबाट सुरु भएको प्रतियोगिता चारपानेचोक–प्रभुचोक–सांगवेद स्कुल–ओमचोक–कुशलचोक–अर्जुनधाराधाम–वरपीपलचोक–मिलडाँडा–प्रगतिटोल–भाङबारी–तामाङचोक–रातेखाल–बिरिङ खोलाको कज्वे–पानीकल–लक्ष्मीपुर हुँदै सहारा साकोस शिक्षा सदनमा आएर टुंगिनेछ ।

प्रतियोगितामा महिला र पुरुषको अलगअलग विधा हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद ५१ हजार, दोस्रोलाई नगद ३१ हजार र तेस्रो हुनेलाई नगद २१ हजार रुपैयाँ प्रदान गरिने संस्थाका निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए ।

त्यस्तै, चौथोदेखि दशौँसम्म हुनेलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगितामा १८ वर्षभन्दा माथिका खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer