२०८१ जेठ ११ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

आन्तरिक पर्यटकको पर्खाइमा इलामको रमणीय गुफा पाताल


इलाम (गुफा पाताल), चैत २७ । नयाँ वर्षको पूर्वसन्ध्यामा अधिकांश नेपाली घुम्न जाने योजनामा हुन्छन् ।

एसइइ सकिएर विद्यार्थीहरु पनि फुर्सदिला भएका छन् । बुवाआमासँगै घुम्न जाने योजनामा रहेका विद्यार्थी र छुट्टी मनाउन नयाँ गन्तव्यको खोजीमा रहेका नेपालीका लागि इलामको सीमावर्ती गाउँ गुफा पाताल उपयुक्त हुन सक्छ ।

इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ मा रहेको गुफा पातालमा पाँचवटा होमस्टे रहेका छन् ।

गुफा पातालको सीमामै भारतीय गाउँ छब्बिसे पर्छ । भारतको मिरिक नजिकै रहेकाले त्यहाँ पुग्ने अधिकांश पर्यटक गुफा पाताल आउने गरेका छन् ।

दार्जिलिङ, मिरिक घुम्न आउने पर्यटकहरु एक दिनका लागि भए पनि गुफा पाताल पुग्ने गरेका छन् । गुफा पातालको छेवैमा मेची नदीको उद्गमस्थल पनि देख्न सकिन्छ ।

त्यस्तै, यहाँबाट कञ्चनजंघा हिमाल, सूर्योदय तथा सूर्यास्त, विभिन्न जीवजन्तु, वनस्पति र पहाडी सुन्दरताको दृश्यावलोकन गर्न सकिने भएकै कारण पर्यटकहरुको लागि आकर्षक हुन थालेको स्थानीय माउन्ट भ्यु होमस्टेका सञ्चालक रविन प्रधानले जानकारी दिए ।

गुफा पातालबाट राति तथा बिहान, दिउँसो मौसम खुलेको बेला मिरिक, दार्जिलिङ, खर्साङ, इलाम तथा झापालाई देख्न पाउँदा रोमाञ्चक अनुभव हुन्छ ।

गुफा पातालको समथर डाँडोमा बसेर चिसो हावा र हुस्सुसँगै लुकामारी खेल्दै रमाइलो गर्ने भारतीय समूहको घुइँचो नै हुने गरेको छ ।

सरकारको उपेक्षा

सूर्योदय ४ मै श्रीअन्तु पनि पर्ने भएकाले सरकारी बजेटबाट गुफा पाताल निक्कै टाढा छ । २०६१ सालमै समिति दर्ता गरेर सामुहिक रुपमा जग्गा किनेर संरक्षण गरिए पनि राज्यबाट गुफा पाताल उपेक्षित छ ।

गुफा पाताल पर्यटन क्षेत्र समितिकी अध्यक्ष मीरा श्रेष्ठ थुलुङले यो आर्थिक वर्षमा प्रदेश सरकारबाट ६० लाख रुपैयाँ विनियोजन भए पनि अन्तिममा कार्यान्वयनमा आउन नसकेको गुनासो पोखिन् ।

गुफा पातालबाट देखिएको कञ्चनजंघा हिमालको दृश्य ।

वडा अध्यक्ष, नगरप्रमुख, प्रदेश सरकार र संघीय सरकारसँग गुफा पातालको सम्बर्द्धन तथा विकासका लागि बजेट विनियोजन गर्न अध्यक्ष थुलुङले अपेक्षा गरेको बताइन् ।

गुफा पातालमा होमस्टे सञ्चालन गर्ने सबै स्थानीयको स्वर एउटै छ, ‘यो ठाउँलाई सरकारले हेरेन ।’

गुफा पातालबाट देखिने सूर्योदय हेर्दै पर्यटक ।

स्थानीय बुद्धिलाल तामाङले दान दिएको एक रोपनी जग्गामा स्थानीयले रकम संकलन गरेर सात रोपनी बनाएर हाल घेराबारा गर्दै भ्यु टावर बनाएका छन् । तर, भ्यु टावर पनि अपूर्ण रहेको स्थानीय होमस्टे सञ्चालक मदन गुरुङले बताए ।

गुफा पातालको समथर डाँडामा मज्जा लिँदै पर्यटक ।

सबैभन्दा आवश्यक त छिरुवाबाट गुफा पातालसम्म पुग्ने सडक जीर्ण छ । छिरुवाबाट ६ किलोमिटरको उकालोमा रहेको गुफा पातालसम्म पुग्न पक्की सडक बनिए श्रीअन्तुभन्दा उत्कृष्ट र सुन्दर गन्तव्य हुने नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर्सका कोसी महासचिव नविन खरेलले बताए ।

गुफा पातालको समथर डाँडाबाट सूर्यास्त कैद गर्दै पर्यटक ।

भारतीय पर्यटकका लागि उत्तम गन्तव्य भए पनि नेपाली पर्यटक भने सडकका कारण आउन नसकिरहेको थुलुङले जानकारी दिइन् ।

तीन वर्षदेखि होमस्टे सञ्चालन गर्दैै आएका प्रधानका अनुसार नेपालपट्टि कच्ची बाटोका कारण आन्तरिक पर्यटक आउन सकेका छैनन् ।

गुफा पाताल जाने बाटोमा पर्ने तीन ब्लकको मेची बजार ।

नेपालतर्फबाट सुविधायुक्त सडक नभएकै कारण आन्तरिक पर्यटक भित्र्याउन नसकिएको स्थनीय होमस्टे सञ्चालक शान्ति शेर्पाले बताइन् ।

भारतीय पर्यटकहरुका लागि आकर्षणको रुपमा रहेको सीमावर्ती पहाडी गाउँ गुफा पातालमा ग्रामीण पर्यटनको प्रबर्द्धन र सामुदायिक होमस्टेका लागि पूर्वतयारी शिक्षा कार्यक्रम पनि हालै सम्पन्न भएको छ ।

गुफा पाताल जाने बाटोमा श्रीअन्तु चिया उद्योग रहेको छ । बाटोमा पर्ने चिया बगानको रमणीय दृश्य ।

गुफा पातालमा नेपाली पर्यटकका लागि गन्तव्य बनाउने उद्देश्यले दुई दिने शिक्षा कार्यक्रम राखिएको हो ।

गुफा पाताल पुग्न झापाको चारआलीबाट फिक्कलसम्म ४५ किलोमिटर र फिक्कलबाट श्रीअन्तु जाने सडक छिरुवासम्म ५ किलोमिटर यात्रा तय गर्नुपर्छ । छिरुवाबाट भने कच्ची सडक ६ किलोमिटर दूरी पार गरेपछि गुफा पाताल पुगिन्छ ।

६ किलोमिटर सो कच्ची सडकबाट बर्खामा भने जान सकिँदैन । अन्य महिना पनि फोर ह्विलर साधन र दुई चक्के सवारी मात्र जान सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer