२०८१ बैशाख २८ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

नयाँ वर्षमा चेप्टीमा पर्यटकको घुइँचो


बिर्तामोड, बैशाख १ । नयाँ वर्षको मौका पारेर घुम्न जानेहरुका कारण पूर्वी नेपालका अधिकांश पर्यटकीय क्षेत्र आज भरिभराउ थिए । तीमध्ये पनि झापा र इलामको सीमामा रहेको चर्चित पार्क चेप्टीमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो देखिन्थ्यो ।

नयाँ वर्ष २०८० मनाउन निस्किएका झापा, मोरङ, सुनसरी, इलामका मात्र होइन कोसी प्रदेशका अन्य जिल्ला तथा छिमेकी मुलुक भारतबाट पनि नेपालीमुलका पर्यटकहरुले बैशाख १ को दिन चेप्टीमा बिताएका छन् ।

दुई वर्षयता चर्चामा रहेको इलामको माई नगरपालिकामा रहेको ह्याप्पी ड्रिम्स चेप्टीमा यतिबेला थामिनसक्नुका पर्यटक आउन थालेको सञ्चालक दिनेश शिवाकोटीले बताए ।

नयाँ वर्षको पहिलो दिन मात्र चेप्टीमा हजारौँ पर्यटक घुम्न आएको बताइएको छ । नयाँ उमंगका साथ नयाँ वर्ष मनाउने उल्लासमा नयाँ गन्तव्यको खोजीमा रहेका मानिसहरु चेप्टी पुगेका थिए ।

इलामकै कन्याम, श्रीअन्तुको सट्टा धेरैजसौ पर्यटकको भीड चेप्टीमा देख्न सकिन्थ्यो । यसपालिको नयाँ वर्षको लागि गन्तव्य पनि नयाँ चेप्टी भएको मोरङबाट सपरिवार घुम्न आएका विकास अधिकारीले बताए । नयाँ वर्षको खुसीयाली साँट्न र रमाउन चेप्टी जाने योजना पहिल्यै बनाएको उनको भनाइ थियो ।

इलाम र झापाको संगममा रहेको ह्याप्पी ड्रिम्स चेप्टी नयाँ वर्ष मनाउन आउने स्वदेशी र भारतीय पर्यटकको पर्खाइमा सिँगारिएर बसेको छ ।

खण्डहर बगरलाई सौन्दर्य भरेर कसरी रमणीय स्थान बनाउन सकिन्छ भन्ने उदाहरण हेर्न दक्षिणी इलामको चेप्टी पुग्दा हुन्छ ।

चेप्टी पुग्नका लागि बिर्तामोडबाट खुदुनाबारी हुँदै सहिद सहादत स्थल सुखानीबाट पश्चिम लाग्नुपर्ने हुन्छ । यो बाटो सुखानीबाट पश्चिम जाँदा छोटो तर कच्ची रहेको छ । यो छोटो बाटोमा केही समय जंगलबीच हुँदै खोलाको यात्रा रहेकाले रोमाञ्चक भने अवश्य हुनेछ ।

त्यस्तै, दानाबारी बजारसम्म पक्की बाटो हुँदै पुगेर पुनः कच्ची बाटो दक्षिण उकालो भएर पनि चेप्टी सजिलै पुग्न सकिन्छ । झापाको दुर्गापुरबाट उत्तर हुँदै सुखानी भएर पनि चेप्टी पुग्न सकिन्छ ।

बृहत् आकारमा फैलिएको चेप्टी पार्कलाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउन युवा व्यवसायी शिवाकोटीको परिकल्पना साकार हुँदै गएको छ ।

दृढ आत्मविश्वास र इच्छाशक्ति भएका झापा सुरुङ्गाका युवा शिवाकोटीको यो ‘बिग प्रोजेक्ट’ निर्माणको अन्तिम चरणमा पुग्दा निक्कै लोभलाग्दो देखिएको छ ।

मानिसहरु दिनभरि नै चेप्टीमा समय बिताउन थालेका छन् । सञ्चालक शिवाकोटीले खान र बस्नका लागि होटल र रिसोर्ट पनि तयार गर्दै छन् ।

दुबईमा रहेको विश्वचर्चित मिराकल पार्कलाई बिर्साउनेगरी चेप्टीले आकार लिँदै गएको छ । माईखोलाकै किनार र चुरेको फेदीमा शिवाकोटीले निर्माण गरेका चेप्टीमा घुम्ने आउनेको संख्या थामिनसक्नुको छ । भव्य पार्कमा मन्त्रमुग्ध बनाउने दर्जनौँ स्थलहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer