२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

युवा खेलाडीलाई प्रोत्साहित गर्न कोसी प्रदेशमा ‘स्कुल टु ओलम्पिक’


बिर्तामोड, बैशाख १२ । विद्यार्थीहरुलाई खेल क्षेत्रमा आबद्ध हुन प्रोत्साहित गर्ने उद्देश्यसाथ कोसी प्रदेशमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम गरिएको छ ।

कोसी प्रदेशको इटहरीमा आज ओलम्पियन तथा अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडीहरुसँग विद्यार्थीहरुले अन्तरक्रिया गरेका छन् ।
विद्यार्थीहरुले खेलाडीहरुका अनुभव तथा ओलम्पिकसम्मको यात्राको बारेमा जानकारी लिएका थिए ।

कोसी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन्स संघको संयोजनमा भएको कार्यक्रममा इटहरीका स्थानीय निजी विद्यालयका विद्यार्थीहरुसँग ओलम्पियनहरुको अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा बोर्डका सदस्य सचिव हंशराज वाग्लेले स्कुल टु ओलम्पिक कार्यक्रमले खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । खेलाडीहरुलाई प्रेरणा दिन तथा प्रोत्सहान गर्न कार्यक्रम गरिएको वाग्लेले बताए ।

विद्यालयका विद्यार्थी र खेलाडीहरुसँग एकै मञ्चमा बसेर आफ्ना अनुभवहरु साँटन पाउँदा खेलप्रति आकर्षण बढ्ने उनको भनाइ थियो ।

स्कुल टु ओलम्पिक कार्यक्रममा ओलम्पिकमा सर्वाधिक चारपटक भाग लिएका एथलेटिक्सका बैकुण्ठ मानन्धर, एसियाली खेलकुदमा २ कास्य र दक्षिण एसियाली खेलकुदमा ४ स्वर्ण जितेका २००८ का ओलम्पियन तेक्वान्दोका दिपक विष्ट, १९८० को ओलम्पिकमा सहभागिता जनाएका एथलेटिक्सका पुष्पराज ओझा, १९८८ मा सहभागी भएका एथलेटिक्सका डम्बर कुँवर, मेनुका राउत, २००४ मा ओलम्पिकमा सहभागी सुटिङका टिकाराम श्रेष्ठले विद्यार्थीसँग अनुभव साँटेका थिए ।

त्यस्तै, १९९४ को एसियाली खेलकुदमा कास्य पदकधारी करातेकी सीता राई, १६ वर्षसम्म नेपाली राष्ट्रिय भलिबलको कप्तानी सम्हालेका भरत शाह, राष्टिय फुटबल टिमका पूर्वकप्तान तथा कीर्तिमानी गोलकर्ता हरि खड्कासँग विभिन्न विद्यालयका विद्यार्थीले एकै मञ्चमा बसेर आफ्ना अनुभवहरू साँटेका थिए ।

उनीहरुले आफ्नो खेलकुदको सुरुवातदेखि सफलतासम्मका संघर्ष, खेलकुद क्षेत्रले आफ्नो जीवनमा परेको प्रभावका बारेमा चर्चा गरेका थिए । अधिकांशले सफलताका लागि इच्छाशक्ति, लगनशीलता र इमान्दारी आवश्यक रहेको बताएका थिए ।

खेलकुद क्षेत्रमा लाग्नका लागि नाम सुनेका र उनीहरुको बारेमा जानेका विद्यार्थीहरुले उनीहरुसँग कुराकानी गर्दै प्रश्नोत्तर समेत गरेका छन् । विद्यार्थीहरुले खेल क्षेत्रको अवस्था, विगत वर्तमान र भविष्यका साथै पारिवारिक वातावरण, आर्थिक पाटोलगायत विभिन्न विषयमा प्रश्नहरु सोधेका थिए ।

कार्यक्रमको सहजीकरण हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनाले गरेका थिए । कीर्तिमानी खेलाडीहरुसँग साक्षात्कार र भलाकुसारी गर्न पाउँदा विद्यार्थीहरु उत्साहित देखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer