२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबलः कोसी र लुम्बिनी विजयी


दमक, बैशाख १५ । झापाको दमकमा जारी प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कोसी प्रदेश विजयी भएको छ ।

कोसी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा दमकको हिमालय माविको खेल मैदानमा भएको खेलमा कोसी प्रदेशले पाहुना टोली सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराएको हो ।

कोसीले सुदूरपश्चिमलाई १७-२५, १७-२५ र २४-२६ को सेटले हरायो । जितसँगै कोसी प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

रात्रिकालीन प्रतियोगिताअन्तर्गत उद्घाटनको दोस्रो खेलमा लुम्बिनी प्रदेश विजयी भयो । मधेस प्रदेशलाई सोझो सेटमा हराउँदै लुम्बिनीले तीन अंक जोडेको छ । लुम्बिनीले मधेसलाई १२-२५, १४-२५ र १७-२५ को सेटमा हराएको हो ।

लिग एन्ड नकआउट सो प्रतियोगिताअन्तर्गत आज शुक्रबार मधेस प्रदेशले गण्डकी प्रदेशविरुद्ध र गण्डकी प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध खेल्ने छन् ।

पाँच प्रदेशको सहभागिता रहेको प्रतियोगितामा लुम्बिनी, मधेस र गण्डकी प्रदेश समूह क मा छन् भने कोसी र सुदूरपश्चिम प्रदेश समूह ख मा छन् । कर्णाली र बाग्मती प्रदेश भने आन्तरिक विवादका कारण प्रतियोगितामा सहभागी भएनन् ।

यसैबीच, पहिचानवादीहरुको कडा विरोधका बीच प्रतियोगिता सफल रुपमा उद्घाटन भएको थियो । पहिचानवादीहरु खेल मैदानमा कोसी प्रदेश नामविरुद्ध नाराबाजी गर्दै कालो झन्डा देखाए पनि आयोजक कोसी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले उनीहरुलाई सम्झाइबुझाइ गरेका थिए ।

प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकबहादुर सिंहले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि सिंह, कोसी प्रदेशका सदस्य सचिव वाग्ले, कोसी प्रदेश भलिबल संघका उपाध्यक्ष वीरबल थापा, पूर्वराष्ट्रिय कप्तान भरतबहादुर शाह लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतियोगिता संयोजक थलु राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीले गरेका थिए ।

प्रतियोगिताको विजेताले नगद तीन लाखसहित ट्रफी, मेडल पाउनेछ भने उपविजेताले एक लाख ५० हजार ट्रफी, मेडल प्राप्त गर्ने नेपाल भलिबल संघका उपाध्यक्ष मदन खड्काले जानकारी दिए ।

प्रतियोगिताको प्लेयर अफ द सिरिजले नगद २५ हजार पाउनेछ । त्यस्तै, उत्कृष्ट ब्लकर, सेटर, स्पाइकर, लिब्रो र सर्भर तथा प्रशिक्षकले समान १० हजार पाउने उपाध्यक्ष खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer