२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

पूर्वी नेपाल र उत्तर बंगालका व्यवसायीबीच झापामा छलफल


बिर्तामोड, बैशाख ३१ । पूर्वी नेपाल र उत्तर बंगाल भारतका उद्योगी–व्यवसायीबीच सीमा पार उद्योग व्यवसायको प्रबद्र्धन तथा आयात निर्यातका समस्या पहिचान र समाधानका उपाय खोजीका विषयमा झापामा बृहत छलफल भएको छ ।

बिर्तामोडस्थित होटल किङ्सबरीमा नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले आयोजना गरेको कार्यक्रममा दुई देशका उद्योगी–व्यवसायीबीच सीमा पार व्यवसायबाट कसरी दुबै देशलाई फाइदा पुर्याउन सकिन्छ भन्ने विषयमा छलफल भएको हो ।

अन्तरक्रियात्मक सो छलफलमा नेपालका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको नेतृत्वमा विभिन्न उद्योग वाणिज्य संघ तथा वस्तुगत संघहरुका पदाधिकारी एवम् पर्यटन र होटल व्यवसायसम्बद्ध व्यवसायीहरुको सहभागिता थियो ।

भारतका तर्फबाट इन्डियन चेम्बर अफ कमर्स (आइसिसी) उत्तर बंगाल च्याप्टरका अध्यक्ष सञ्जय गोयलको नेतृत्वमा विभिन्न क्षेत्रका करिब २२ जना उद्योगी–व्यवसायीहरुको सहभागिता थियो ।

छलफलमा नेपालका उद्योगी–व्यवसायीले नेपाली वस्तु निर्यात गर्दा निकै समस्या झेल्नु परिरहेको गुनासो गर्दै भारततर्फ सिर्जना हुने समस्या समाधानका लागि संस्थागत रुपमा सहजीकरण गरिदिन आइसिसीसँग आग्रह गरेका थिए ।

आइसिसी अध्यक्ष गोयलले भारत–नेपालबीच सदियौँदेखि व्यापारिक सम्बन्ध रहेको उल्लेख गर्दै व्यापार आदान–प्रदानका क्रममा आइपर्ने समस्या दुबै पक्ष मिलेर समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

पूर्वी नेपाल र उत्तर बंगालबीच छोटो दूरी रहेको र निरन्तर आयात–निर्यात कारोबार रहँदै आएको भन्दै गोयलले यो सम्बन्धलाई थप उचाइमा पुर्याउनु पर्ने बताए । उनले दुबै भूगोलमा पर्यटनको प्रचुर सम्भावना रहेकोले पर्यटन आदान–प्रदानबाट पनि दुबै देशले लाभ लिन सक्ने उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले भारतीय उद्योगी–व्यवसायीहरुको टोलीलाई स्वागत गरेका थिए ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दिपक नेपाल, मेची उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैन, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, पर्यटन व्यवसायी भविस श्रेष्ठ, बासुदेव बराललगायतले धारणा राखेका थिए ।
आइसिसी सदस्य दिलिप दुगड, राजीव लोचनलगायतले सुझावहरु राखेका थिए ।

छलफल सकारात्मक भएको निष्कर्षसहित द्विपक्षीय छलफल र अन्तरक्रियालाई निरन्तरता दिने समझदारी भएको कार्यक्रम सञ्चालक उमेश डालमियाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer