२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड खानेपानीको मतदान सुरु, कुल मतदाता ८,७५६


बिर्तामोड, जेठ १५ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आठौँ कार्यकालका निम्ति हुने नयाँ समिति चयनका लागि मतदान सुरु भएको छ ।

संस्थाको बिर्तामोड-५ स्थित मुख्य कार्यालय परिसरमा बनाइएको मतदान केन्द्रमा मतदाताको घुइँचो लागिसकेको छ ।

आज सोमबार बिर्तामोड बजार बन्द रहने तथा जेठ १५ गते सार्वजनिक विदासमेत भएकाले मतदाताको उल्लेख्य सहभागिता रहने अनुमान गरिएको मुख्य निर्वाचन अधिकृत खगेन्द्र खरेलले बताए ।

मतदान केन्द्रमा २२ वटा बुथ निर्माण गरिएको छ । संस्थाले आठ हजार ७५६ जना मतदाता प्रमाणित गरेको छ । मतदान बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

आसन्न निर्वाचनका लागि दुई पक्षीय प्रतिस्पर्धा हुँदैछ । स्वतन्त्र प्रगतिशील र लोकतान्त्रिक राष्ट्रवादीले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गराएका छन् ।

स्वतन्त्र प्रगतिशील प्यानलबाट अध्यक्षमा देवेन्द्र सिटौला, उपाध्यक्ष प्रदिप खरेल, सचिव विष्णुप्रसाद चुडाल, कोषाध्यक्ष विनिता राजवंशी, खुला सदस्य छत्रबहादुर श्रेष्ठ र सुनिल शिवाकोटी, महिला सदस्यमा तारा राई, पुनम अधिकारी र सीमा सेलवाल ढुंगाना उम्मेदवार बनेका छन् ।

त्यस्तै, लोकतान्त्रिक राष्ट्रवादी समूहका तर्फबाट अध्यक्षमा मेघराज बास्तोला, उपाध्यक्षमा शैलेन्द्र सिटौला, सचिवमा पारस मैनाली र कोषाध्यक्षमा शारदा रिजाल उम्मेदवार रहेका छन् । सदस्यमा आनन्द गुरुङ, बालादेवी खरेल, माया प्रधान खड्गी र कमला अग्रवाल रहेका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवारका रुपमा कोषाध्यक्ष पदमा केशव श्रेष्ठ र खुला सदस्य पदमा बलराम सिटौला (राम) ले उम्मेदवारी दिएका छन् ।

चार बर्से कार्यकालका लागि हुने चुनावमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र पाँचजना सदस्य निर्वाचित हुने प्रावधान छ ।

संस्थाले निर्वाचनलाई लक्षित गरेर डिजिटल परिचयपत्र बनाएको छ । क्युआरसहितको डिजिटल परिचयपत्र बनाइएको हो ।

निर्वाचनमा मतदान गर्न सो डिजिटल परिचयपत्र अनिवार्य गरिएको छ । कारणवश नभए पुरानो हस्तलिखित परिचयपत्रका साथमा नागरिकताको प्रमाणपत्र चाहिने संस्थाले जनाएको छ ।

बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था अध्यक्ष जलकुमार गुरुङको कार्यकालमा दुईपटक देशकै उत्कृष्ट भएको थियो ।

सहरी विकास मन्त्रालयअन्तर्गतको नगर विकास कोषबाट उत्कृष्ट सेवाग्राही घोषित भएको बिर्तामोड खानेपानी पुरस्कृत पनि भएको थियो ।

खानेपानी सञ्चालन, पानीको गुणस्तर, महशुल, लिकेजलगायतलाई आधार मानेर दसजनाको विज्ञ टोलीले गरेको मूल्यांकनमा संस्था उत्कृष्ट बन्न सफल भएको थियो ।

संस्थाले दैनिक एक करोड ६० लाख लिटर पानी उत्पादन गरी उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । संस्थाको ४ वटा स्वीमबाट अहिले सातवटा पम्पले दैनिक एक करोड ६० लाख लिटर पानी उत्पादन गरी उपभोक्ताहरुलाई चौबीसै घण्टा पानी उपलब्ध गराउँदै आएको छ ।

संस्थाले ३ वटा ओभरहेड ट्याङ्की, १३ वटा डिप बोरिङ, ८ वटा फिल्टर प्लान्टमार्फत ८ हजार ५ सय उपभोक्तामाझ खानेपानी पुर्‍याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer