२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

समितिको आधिकारितालाई लिएर विराटपोखरीमा विवाद


बिर्तामोड, जेठ २८ । निवर्तमान समितिले नयाँ कार्यसमितिलाई आवश्यक कागजातसहितको खाता उपलब्ध नगराएको भन्दै बिर्तामोड–३ मा रहेको विराटपोखरी (सरोवर बहुउद्देश्यीय) विकास समितिमा विवाद उत्पन्न भएको छ ।

ऐतिहासिक धरोहर तथा धार्मिक पर्यटकीय स्थल विराटपोखरीको समितिको आधिकारिता अन्योलमा रहेकाले चार महिनायता समितिविहीन बन्न पुगेको हो ।

संस्थाको पुरानो कार्यसमिति विघटन भइसके पनि नयाँ कार्यसमिति गठन गर्ने प्रक्रिया नमिलेपछि विवाद सिर्जना भएको छ ।

गत माघ ७ गते प्रदेशसभा सदस्य एकराज कार्कीसमेतको उपस्थितिमा भएको संस्थाको छैटौँ अधिवेशनबाट पुरानो कार्यसमितिको पदावधि समाप्त भएपछि विघटन भएको थियो । नयाँ समिति चयन गर्नका लागि ध्रुबकुमार शिवाकोटीको संयोजकत्वमा निर्वाचन समितिसमेत गठन भएको थियो ।

संस्थाको तत्कालीन अध्यक्ष इन्द्रप्रसाद प्रसाईंको अध्यक्षतामा भएको उक्त अधिवेशनबाट नयाँ समिति चयनका लागि माघ १४ गतेको मिति तय भएको थियो ।

निर्वाचनका लागि १२ जनाले उम्मेदवारीसमेत दर्ता गराएका थिए । अध्यक्ष पदका लागि इन्द्रप्रसाद प्रसाईं, आकाश उप्रेती र इन्द्रनारायण प्रसाईं, उपाध्यक्ष पदका लागि मनप्रसाद उप्रेती र मिना पाठक, सचिव पदका लागि दिपेश प्रसाईं, पुनम प्रसाईं र जगन्नाथ भट्टराई, कोषाध्यक्ष पदका लागि हेमचन्द्र अधिकारी र दिनेश मैनाली र सहसचिव पदका लागि नैनकला थापा र अर्जुन उप्रेतीले उम्मेदवारी दर्ता गराएका थिए ।

तर, संस्थाको विधानविपरीतका व्यक्तिहरुले उम्मेदवारी दर्ता गरेकाले उनीहरुको उम्मेदवारी खारेज गरिपाउँ भन्दै अध्यक्षका प्रत्यासीसमेत रहेका निवर्तमान अध्यक्ष इन्द्रप्रसाद प्रसाईंले माघ १० गते निर्वाचन समिति संयोजकलाई निवेदन दिएका थिए ।

पुनः अध्यक्ष इन्द्रप्रसाद प्रसाईं, सचिव पुनम प्रसाईं र कोषाध्यक्ष हेमप्रसाद अधिकारीले माघ १२ गते उम्मेदवारी खारेजी सम्बन्धमा भन्दै अर्को निवेदन निर्वाचन समितिलाई दिएका थिए ।

निर्वाचन समितिमा उजुरी परेसँगै निर्वाचन समितिले राजिनामा दिएकाले अर्को सूचना नभइन्जेलसम्मका लागि निर्वाचन स्थगित भएको भन्दै निवर्तमान अध्यक्ष प्रसाईंले हस्ताक्षर गरी सूचना टाँस गरेका थिए ।

निर्वाचन सरेको आधिकारिक जानकारी नगराएको र निर्वाचन समितिले पूर्वाग्रही ढंगले निर्वाचन स्थगित गरेको भन्दै माघ १४ गते भेला भएका ९४ जना सदस्यहरुले आकाश उप्रेतीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेका थिए ।

सो भेलाले नयाँ समिति गठन भएको जानकारी बिर्तामोड नगरपालिकालाई फागुन ३० गते दर्ता नम्बर ६८४५ को पत्रबाट जानकारी गराएको नयाँ कार्यसमितिले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन समितिको नालायकीपनका कारण यो अवस्था सिर्जना भएको औँल्याइएको छ । विधान नहेरी सदस्यता वितरण र उम्मेदवारी दर्ता गर्दा समस्या भएको बताउँदै निर्वाचन समितिका संयोजक शिवाकोटीले सो बेला गल्ती स्वीकार गरेका थिए ।

यसैबीच, निवर्तमान अध्यक्ष प्रसाईंले अहिले आफ्नो नेतृत्वको समिति नै सक्रिय रहेको दाबी गरेका छन् । संस्थाको कागजपत्र आफूहरुसँगै रहेको बताउँदै उनले अनुकूलता हेरेर फेरि निर्वाचन कार्यक्रम घोषणा गरिने जानकारी दिए ।

तर, उप्रेतीले बहुमत सदस्यहरुको उपस्थितिमा आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको दाबी गरेका छन् ।

महाभारतकालमा विराट राजाले खनेको जनविश्वास रहेको सो पोखरी ५ बिघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer