२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

आमा गुमाएपछि बिचल्लीमा परेका बालबालिकाको संरक्षण गर्ने सहारा नेपालको प्रस्ताव


बिर्तामोड, जेठ २९ । अभिभावक गुमाएर सहाराविहीन झापा बिर्तामोडका तीनजना बालबालिकालाई अग्रणी सहकारी संस्था सहारा नेपालले संरक्षण प्रदान गर्ने प्रस्ताव गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी महेन्द्रकुमार गिरीले उनीहरुको संरक्षणबारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

संस्थाले ‘संरक्षण कार्यक्रम’ अन्तर्गत बिर्तामोड-४ सूर्योदय टोलका निर्दिका दाहाल, निर्बिका दाहाल र दुर्गेश दाहालको अभिभावकत्व प्रदान गर्ने जनाएको छ ।

संरक्षण कार्यक्रममा उनीहरुको उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउने, उनीहरु बसिरहेको घरको पुनर्निर्माण गर्ने र घरभित्र चाहिने आधारभूत आवश्यकताका सामग्रीहरुको व्यवस्थापन मिलाउने प्रमुख कार्यकारी गिरीले जनाएका छन् ।

त्यस्तै, बालक दुर्गेश र उनीहरुका बुवाको उपचारमा सहयोग पुर्याउने संस्थाले जनाएको छ । बालबालिकाको संरक्षणका लागि हेरचाह गर्ने व्यक्तिको व्यवस्था गर्ने, अध्ययनपछि इच्छुक भएमा एकजनालाई योग्यताअनुसारको रोजगारको व्यवस्था गर्ने सहारा नेपाल साकोसले जनाएको छ ।

संस्थाले संरक्षणका लागि स्थानीय तह र सरोकारवालासँग कानुनी प्रावधान मिलाएर अघि बढ्ने पनि जनाएको छ ।

तीन दिनअघि भाग्य न्यौपानेले आफ्नो फेसबुक अकाउन्टमार्फत ती बालबालिकाको अवस्थाबारे भिडियो रिपोर्ट प्रशारण गरेका थिए ।

रिपोर्टअनुसार बालबालिकाका आमाको झन्डै चार महिनाअघि ३७ वर्षको उमेरमा दमका कारण निधन भएपछि उनीहरु बिचल्लीमा पर्दै आएका थिए ।

उनीहरुका बुवा डिप्रेसनले थलिएकाले उनीहरुको साथमा नरहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

 भिडियो प्रसारण भए पश्चात सहारा नेपालका प्रमुख कार्यकारी गिरी, निर्देशक लक्ष्मण खतिवडासहितको टोली बालबालिकाको अवस्था बुझ्न उनीहरुको  घर पुगेको थियो ।

आमासँग रहँदै आएका उनीहरु आमाको निधनपछि जेठी छोरीले भारतको पानीट्यांकीबाट नेपालका पसलेका लागि सामान ओसारेर जीविको टार्दै आएकी थिइन् । निर्दिका ११, निर्बिका ९ र दुर्गेश ६ वर्ष पुगेका छन् । दुर्गेश बोल्न सक्दैनन् ।

ती बालबालिकाको अवस्थाबारे स्थानीय सुनिल न्यौपानेले भाग्य न्यौपानेलाई खबर गरेका थिए । भिडियो प्रसारण भए पश्चात धेरैले आर्थिक सहयोग समेत गरेका छन् ।

भाग्य न्यौपानेका अनुसार उनीहरुको सहयोगका लागि एक्सेल डेभलपमेन्ट बैंकमा खोलिएको खातामा ६ लाखभन्दा बढी रकम संकलन भइसकेको छ ।

बालबालिकाको संरक्षणत्व ग्रहण गर्न संघसंस्था र व्यक्तिहरुले इच्छा देखाए पनि वडा कार्यालयले भने हालसम्म चासो देखाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer