२०८१ जेठ २ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा स्वास्थ्य पर्यटन प्रबर्द्धन कार्यक्रम हुने


बिर्तामोड, असार १२ । चिकित्सा पर्यटन, उद्योग पर्यटन तथा समग्र व्यवसायीलाई एउटै छानामुनि ल्याउने उद्देश्यले बिर्तामोडमा स्वास्थ्य पर्यटन प्रबद्र्धन कार्यक्रम हुने भएको छ ।

नेपाल पर्यटन बोर्डको आयोजना बिर्तामोड नगरपालिकासँगको सहकार्यमा हेल्थ टुरिजम प्रोमोसन प्रोग्राम आयोजना हुने भएको हो । यही असार १६ गते हुने कार्यक्रममा नेपाल र भारतका पर्यटन व्यवसायी, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहने निश्चित भएको छ ।

कार्यक्रमले स्वास्थ्यसेवा प्रदायक, बिरामी र पर्यटन उद्योग लगायत विभिन्न सरोकारवालालाई फाइदा पुग्ने अपेक्षा गरिएको नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स संघ (नाट्टा) कोशी प्रदेशका अध्यक्ष उदय श्रेष्ठले बताए ।

बिर्तामोडको आदर्श ब्यांक्वेटमा आयोजना हुने कार्यक्रमले व्यापारका अवसरहरु विकास गर्ने र साझेदारी गठन गर्ने प्लेटफर्मका रुपमा काम गर्न सक्ने जनाइएको छ ।

पर्यटन व्यवसायीहरुले चिकित्सासेवा प्रदायकहरुसँग सहकार्य गरेर चिकित्सा पर्यटन प्याकेजहरु बनाउन सक्ने र आफ्नो नेटवर्कहरुमा प्रचारप्रसार गर्न सक्ने नाट्टाका महासचिव नविन खरेलले बताए ।

यस कार्यक्रमले भारतीय बिरामीहरुलाई नेपालका अस्पतालमा उपचार गर्न आउने वातावरण बन्ने जानकारी उनले दिए । विषेशगरी झापाका आँखा अस्पतालमा भारतीय बिरामीको भीड लाग्ने गरेको छ ।

कार्यक्रमका लागि हालसम्म ३३ वटा स्टल बुकिङ भइसकेको भन्दै उनले एकदिने सो कार्यक्रममा ५० वटा स्टल रहने जानकारी दिए । कार्यक्रम आयोजना गर्न ५ लाख रुपैयाँको बजेट अनुमान गरिएको छ ।

कार्यक्रममा नेपाल र भारतका पर्यटन व्यवसायी, चिकित्साकर्मी र सञ्चारकर्मीकोसमेत सहभागिता रहने जनाइएको छ ।

कार्यक्रम अवलोकन गर्न आउने अवलोकनकर्तालाई महोत्सवबाटै प्राथमिक उपचार र औषधिसमेत निःशुल्क वितरण गर्ने तयारी भइरहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer