२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

ऋतिका र जर्जिया राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको फाइनलमा


विराटनगर, असार १४ । प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता २०८० अन्तर्गत महिला सिंगलतर्फ ऋतिका चौधरी र जर्जिया चौधरी फाइनलमा पुगेका छन् ।

प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा आज विराटनगरमा भएको लुम्बिनी प्रदेशकी ऋतिका र बागमती प्रदेशकी जर्जिया फाइनल पुगेका हुन् ।

ऋतिकाले सेमिफाइनलमा लुम्बिनी प्रदेशकी रोशिका पोखरेललाई हराइन् । त्यस्तै, जर्जियाले सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी भगवती विकलाई हराएर फाइनलमा स्थान बनाइन् ।

हारसँगै पोखरेल र विक कास्य पदकमा सीमित भएका छन् । अब स्वर्ण पदकका लागि ऋतिका र जर्जियाले भोलि शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताअन्तर्गत पुरुष सिंगलतर्फ कोशी प्रदेशका युकेश योञ्जन, बागमती प्रदेशका ब्रिजेश प्रधान, सशस्त्र प्रहरी बल एपिएफ क्लबका कमल भण्डारी र बागमतीका प्रदिप खत्री सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नवौँ राष्ट्रिय खेलकुदका स्वर्णधारी युकेशले लुम्बिनीका रोशन केसीलाई हराए भने ब्रिजेशले नवौँ राष्ट्रिय खेलकुदका कास्य पदक विजेता निर्मल स्थापितलाई पराजित गरे ।

त्यस्तै, कमलले पनि नवौँ राष्ट्रिय खेलकुदका कास्य पदक विजेता सुरज चौधरीलाई हराए भने नवौँका रजत पदकधारी खत्रीले कोशीका मुकुन्द बुढाथोकीलाई पराजित गरे ।

प्रतियोगितामा कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लबका महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।

महिला तथा पुरुष सिंगल, महिला तथा पुरुष डबल्स र मिक्स गरेर पाँचवटा इभेन्ट्समा हुने प्रतियोगितामा पुरुषतर्फ २५ र महिलातर्फ १५ खेलाडीले सहभागिता जनाएका छन् ।

सबै विधाका स्वर्ण पदक विजेतालाई नगद ३५ हजार, रजत पदकलाई २५ हजार र कास्य पदक पाउनेलाई समान १० हजार रुपैयाँ प्रदान गरिने मोरङ जिल्ला सफ्ट टेनिस संघका अध्यक्ष श्यामकुमार लामाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer