२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

युकेश र प्रदिप राष्ट्रिय सफ्ट टेनिसको फाइनलमा


विराटनगर, असार १५ । कोशी प्रदेशका युकेश योञ्जन र बागमती प्रदेशका प्रदिप खत्री प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता २०८० को फाइनलमा प्रवेश गरेका छन् ।

प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा विराटनगरमा भइरहेको प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बल एपिएफ क्लबका कमल भण्डारीलाई हराउँदै युकेश फाइनल पुगेका हुन् ।

त्यस्तै, प्रदिपले बागमती प्रदेशका ब्रिजेश प्रधानलाई हराएर फाइनलमा युकेशसँगको भेट पक्का गरेका हुन् ।

युकेश नवौँ राष्ट्रिय खेलकुदका स्वर्णधारी हुन् भने प्रदिप रजत पदक विजेता खेलाडी हुन् । ९ महिनापछि पुनः युकेश र प्रदिप स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताअन्तर्गत फाइनल खेल भोलि शनिबार हुने छन् । आज पुरुष डबल्स र महिला डबल्सका खेल हुँदैछन् ।

प्रतियोगितामा कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लबका महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।

महिला तथा पुरुष सिंगल, महिला तथा पुरुष डबल्स र मिक्स गरेर पाँचवटा इभेन्ट्समा हुने प्रतियोगितामा पुरुषतर्फ २५ र महिलातर्फ १५ खेलाडीले सहभागिता जनाएका छन् ।

सबै विधाका स्वर्ण पदक विजेतालाई नगद ३५ हजार, रजत पदकलाई २५ हजार र कास्य पदक पाउनेलाई समान १० हजार रुपैयाँ प्रदान गरिने मोरङ जिल्ला सफ्ट टेनिस संघका अध्यक्ष श्यामकुमार लामाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer