२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

राष्ट्रिय सफ्ट टेनिसमा कोशी प्रदेशलाई तीन स्वर्ण


विराटनगर, असार १६ । प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितमा कोशी प्रदेशले तीन स्वर्ण पदक जित्दै प्रथम भएको छ ।

आज विराटनगरस्थित सहिद रंगशाला परिसरमा रहेको टेनिस कोर्टमा भएको फाइनल खेलमा कोशीले पुरुष सिंगल, महिला डबल्स र पुरुष डबल्समा स्वर्ण पदक जितेको हो ।

महिला सिंगल्समा बागमती प्रदेश र मिक्स डबल्समा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले स्वर्ण जिते ।

प्रतियोगिताअन्तर्गत महिला सिंगल्समा लुम्बिनी प्रदेशकी ऋतिका चौधरीलाई बागमती प्रदेशकी जर्जिया चौधरीले ४–१ को सेटमा हराउँदै स्वर्ण जितिन् । ऋतिकाले रजत तथा एपिएफकी भगवती विक र लुम्बिनीकी रोशिका पोखरेलले कास्य पदक जिते ।

त्यस्तै, पुरुष सिंगल्सतर्फ कोशीका युकेश योञ्जनले बागमतीका प्रदिप खत्रीलाई ४–० को सेटमा हराउँदै स्वर्ण जिते । प्रदिप रजतका सीमित भए । एपएिफका कमल भण्डारी र बागमतीका बृजेश पाण्डेले कास्य पदक पाए ।

महिला डबल्सतर्फ कोशीका श्रेया योञ्जन र श्रेया राईको जोडीले बागमतीका जर्जिया चौधरी र चन्द्रमाया राईको जोडीलाई १०–८ को टाइमा हराउँदै स्वर्ण जित्यो ।

लुम्बिनीका रोशिका पोखरेल र सुमित्रा खनाल तथा ऋतिका चौधरी र विमला पन्थीको जोडीले कास्य पाए ।

मिक्स डबल्समा एपिएफका भगवती विक र कमल भण्डारीको जोडीले बागमतीका जर्जिया चौधरी र प्रदिप खत्रीको जोडीलाई ५–३ को सेटमा हराएर स्वर्ण जिते ।

कोशीका युकेश योञ्जन र श्रेया योञ्जन तथा लुम्बिनीका सुरज चौधरी र ऋतिका चौधरीले कास्य पाए ।

त्यस्तै, पुरुष डबल्सतर्फ कोशीका युकेश योञ्जन र आशिष बोहोराको जोडीले कोशीकै आभाष बुढाथोकी र असलेस ढकालको जोडीलाई ५–२ सेटमा हराउँदै स्वर्ण जिते ।

लुम्बिनीका सुरज चौधरी र कुमार गिरी तथा एपिएफका कमल भण्डारी र भीमबहादुर थापा मगरको जोडीले कास्य जित्यो ।

प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा तथा मोरङ जिल्ला सफ्ट टेनिस संघको संयोजनमा भएको प्रतियोगिताको फाइनलमा विजेता खेलाडीलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला, बोर्डका सदस्य सचिव हंशराज वाग्ले, संघका मोरङ अध्यक्ष श्यामकुमार लामा लगायतले पुरस्कार तथा मेडल प्रदान गरेका थिए ।

प्रतियोगितामा कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लबका महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा महिला तथा पुरुष सिंगल, महिला तथा पुरुष डबल्स र मिक्स गरेर पाँचवटा इभेन्ट्सका खेलहरु भएका थिए ।
सबै विधाका स्वर्ण पदक विजेतालाई नगद ३५ हजार, रजत पदकलाई २५ हजार र कास्य पदक पाउनेलाई समान १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer