२०८१ बैशाख ३० आइतबार
Jhapa Today
Adv top
Adv below_nav

करोडौँ ठगेर बेपत्ता गौरादहका सुनचाँदी व्यवसायी विश्वकर्माविरुद्ध ४३७ निवेदन


बिर्तामोड, असार २२ । करोडौँ ठगेर फरार भएका झापा गौरादह–१ का सुनचाँदी व्यवसायी सोमराज विश्वकर्माविरुद्ध ४३७ जनाले निवेदन दिएका छन् ।

२४ करोड रुपैयाँभन्दा बढी रकम ठगेर फरार भएका उनी गौरादह–२ स्थित गौरादह बजारमा दुई दशकदेखि सुनचाँदी व्यवसाय गर्दै आएका थिए ।

बिहीबारसम्ममा उनीबाट ठगिएका ४३७ जनाले करिब २४ करोडभन्दा बढी ठगेको दाबी गरेर वडा कार्यालयमा निवेदन दिएका छन् ।

गौरादह–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीको नाममा पत्र लेखेर उनी एक सातादेखि फरार छन् । भण्डारीलाई हस्ताक्षरबिनाको एउटा पत्र म्यासेन्जरमा पठाएर विश्वकर्मा सम्पर्कमा छैनन् ।

अहिलेसम्म २४ करोड हाराहारीको दाबीसहित निवेदन परेको वडा कार्यालयले जनाएको छ । ५० हजारदेखि ४० लाखसम्म ठगिएका व्यक्तिहरूले निवेदन दिएका छन् ।

विश्वकर्माले कोरोनाका कारण लकडाउन हुँदा र अहिलेको आर्थिक संकटका कारण व्यवसाय गर्नै नसक्ने गरी डुबेको वडाध्यक्ष भण्डारीलाई लेखेको पत्रमा उल्लेख गरेका छन् ।

उनले धेरै साहुलाई साँवाभन्दा ब्याज बढी तिरेको उक्त पत्रमा लेखेका छन् । यो पत्रले उनले साहुलाई धेरै ब्याजको आशा देखाएर ऋण लिएको पुष्टि हुन्छ ।

१४ असारदेखि विश्वकर्मा परिवारको समेत सम्पर्कमा नरहेको र पत्र लेखेर फरार भएपछि प्रहरीलाई खोजी गर्न वडाले पत्र लेखेको वडाध्यक्ष भण्डारीले बताए ।

विगतदेखि नै राम्रो कारोबार भएकाले उनलाई विश्वास गरेर पैसा दिएको सोमराजबाट ठगिएकाहरुले बताएका छन् ।
ठगी गरेको यति ठुलो रकम कहाँ गयो र कहाँ लगानी भयो भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जीतबहादुर कार्कीले बताए ।

यसैबीच, पीडितले दिएको निवेदनका आधारमा गौरादह नगरपालिकाको न्यायिक समितिले पनि प्रक्रिया अघि बढाउने भएको छ ।

न्यायिक समिति संयोजक तथा उपप्रमुख जलवर्षा राजवंशीले सर्वदलीय बैठक पनि बसेको र शुक्रबार न्यायिक समितिको बैठक बसेर प्रक्रिया अघि बढ्ने बताइन् ।

जिल्ला प्रशासन कार्यालय झापाले फरार रहेका सोमराजको खोजी भइरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले यो घटनाका बारेमा प्रशासन जानकार भएको र हराइरहेका विश्वकर्माको खोजी भइरहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer