२०८१ जेठ १ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

अर्जुनधारामा ‘गाई ब्लक विकास’ कार्यक्रम प्रभावकारी बन्दै


बिर्तामोड, असार २५ । प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत सञ्चालित ‘गाई ब्लक विकास’ कार्यक्रम झापाको अर्जुनधारामा प्रभावकारी बनेको छ ।

आर्थिक वर्ष २०७८–०७९ देखि सुरु भएको सो कार्यक्रम चालु आर्थिक वर्षसम्म रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले बताइन् ।

उनले किसानलाई यस कार्यक्रममार्फत गाईको दूध बेचेरै जीविकोपार्जन गर्नसमेत मद्दत गरेको बताइन् । इलाम र झापा गरी दुई सहकारीमार्फत यो कार्यक्रम सञ्चालन भइरहेको छ ।

अर्जुनधारा नगरपालिका–१ खुदुनाबारीका अधिकांश किसानले सोही कार्यक्रममार्फत गाईको दूध बेचेरै जीविकोपार्जन गरिरहेका छन् । उनीहरुलाई हाम्रो स्वालम्बी उद्यमी महिला सहकारी संस्थाले दूध खरिद गरेर सहयोग गरेको छ ।

सहकारीमार्फत नै प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गतको ‘गाई ब्लक विकास कार्यक्रम’ समेत सञ्चालन भइरहेको छ । गाई ब्लक विकास कार्यक्रम सञ्चालनका लागि केन्द्रले पहिलो वर्ष ७० लाख र दोस्रो वर्ष ३० लाख रुपैयाँ गरी एक करोड रुपैयाँ अनुदानसमेत प्रदान गरेको छ ।

सो रकम सहकारीले किसानलाई गाई गोठ निर्माण, उन्नतजातका गाई खरिद, मिल्क एनलाइजरलगायतका औजार खरिदका लागि अनुदान प्रदान गरेको केन्द्रकी प्रमुख भट्टराईले बताइन् ।

२०७५ देखि सञ्चालन गरिएको सहकारीले पालिका र वडाको आर्थिक सहयोगमा २०७७ सालमा दूध सङ्कलन केन्द्र सुरु गरेको थियो । पालिकाले आठ लाख र वडाले दुई लाख रुपैयाँ सहयोग प्रदान गरेपछि दूध सङ्कलन केन्द्र सुरु गरिएको सहकारीकी व्यवस्थापक सुशीला तामाङले बताइन् ।

उनले हाल वडा नम्बर १ का हरेक घरमा दुईदेखि १० वटासम्म उन्नत जातका गाईपालन भइरहेको बताइन् । सुरुमा नूनतेलका लागि मात्र दूध बेच्न किसानको अहिले जीविकोपार्जन नै यसैबाट भइरहेको छ ।

सोही कार्यक्रमअन्तर्गत ४४ जना किसानलाई आधुनिक गोठ निर्माणमा, ३९ जना किसानलाई उन्नतजातको गाई खरिदका लागि रकम उपलब्ध गराइएको छ । व्यवस्थापक तामाङले किसानले उत्पादन गरेको दूध सहकारीले घरघरबाटै ६० देखि ८० रुपैयाँसम्ममा खरिद गर्दै आएको बताइन् ।

सहकारीले आफ्ना शेयर सदस्यलाई समेत गाईपालनका लागि ११ प्रतिशत ब्याजदरमा दुई लाख रुपैयाँसम्म ऋण लगानी गर्दै आएको छ ।

सहकारीमा हाल दुई हजार ११ जना शेयर सदस्य छन् । कार्यक्रममा शेयर सदस्य नभएका व्यक्तिलाई समेत समावेश गरिएको छ । -रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer