२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सेप्टिक ट्यांकमा डुबेका बालकको उपचारको क्रममा निधन


-विनिशा शर्मा

बिर्तामोड, असार २६ । विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा खसेर गम्भीर बनेपछि अस्पताल भर्ना गरिएका तान्छोक लिम्बूको निधन भएको छ ।

८ वर्षीय उनको बिएन्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान १०ः३० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ ।

झापा धुलाबारीको सानो साथी किन्डर गार्टेनमा पढ्ने ८ वर्षीय लिम्बू हिजो असार २५ गते खाजा खाएर शौचालय जाँदा शौचालयको ढोकाअगाडि रहेको सेप्टिक ट्यांकभित्र खसेका थिए । सेप्टिक ट्यांकको प्वाल छोप्न मक्किएको प्लाइको प्रयोग गरिएका कारण त्यसमाथि लिम्बू हिँड्दा भित्र झरेका थिए ।

विद्यालयका सञ्चालक मनोज गुरूङले बालक सेप्टिक ट्यांकमा डुबेको थाहा पाएपछि आफैँ ट्यांकभित्र पसेर निकालेका थिए । त्यसपछि अस्पताल पनि उनैले पुर्याएका थिए । उनलाई बेहोश अवस्थामा उद्दार गरी हिजो दिउँसो २ बजे अस्पताल भर्ना गरिएको थियो ।

उनको चिन्ताजनक अवस्थामा भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । बालक लिम्बूको फोक्सोमा पानी जमेर श्वासप्रश्वासमा गम्भीर समस्या भएकाले सुधार हुन कम्तिमा ४८ घण्टा पर्खनुपर्ने चिकित्सकलाई उद्धृत गर्दै अस्पतालका जनसम्पर्क तथा सूचना अधिकारी प्रमिस गिरीले जानकारी दिएका थिए ।

बिरामीलाई सास फेर्न निक्कै गाह्रो भएपछि भेन्टिलेटरमा राख्ने गरिन्छ । भेन्टिलेटरमार्फत बिरामीको वायुमार्ग हुँदै फोक्सोमा अक्सिजन पुर्याउने काम गरिन्छ ।

पानीमा डुब्दा पानी धेरै खाएकाले बालकको ठुलो आन्द्रामा समेत समस्या आएको तथा निमोनिया समेत भएको चिकित्सकले बताएका थिए ।

यसैबीच, पक्राउ परेका विद्यालय सञ्चालक गुरुङमाथि कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार जाहेरी के शीर्षकमा पर्छ, त्यहीअनुसार गुरुङमाथि कारबाही अघि बढाइनेछ ।

बालकको निधनपछि अप्रिय घटना हुन नदिन विद्यालय परिसरमा प्रहरी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer