२०८१ बैशाख ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

सेप्टिक ट्यांक प्रकरणः जाहेरी परेका तीनजना पक्राउ, एक फरार


मेचीनगर, असार २६ । विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा डुबेर विद्यार्थीको निधन भएपछि प्रहरीले प्रिन्सिपलसहित तीनजनालाई पक्राउ गरेको छ ।

धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन नामको पूर्वप्राथमिक विद्यालयमा पढ्ने ८ वर्षीय बालक तान्छोकहाङ लिम्बूको बिएन्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान १०ः३० बजे निधन भएपछि परिवारले विद्यालय सञ्चालक र कर्मचारीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मेचीनगर–११ का विद्यालय सञ्चालक तथा प्रिन्सिपल ४५ वर्षीय मनोज गुरुङ, मेचीनगर–११ की कर्मचारी ३५ वर्षीया रमा सुनार र मेचीनगर–१० की व्यवस्थापक २४ वर्षीया अनिशा पोखरेल रहेका छन् ।

अर्का आरोपी एवम् स्कुलका सञ्चालक काठमाडौँ–३१ का ४२ वर्षीय सुरेन रसाइली भने फरार छन् । निधन भएका बालकको परिवारका तर्फबाट आमा मेरिना लिम्बू र बुवा खर्कबहादुर सुब्बाले इलाका प्रहरी कार्यालय धुलाबारीमा आज साँझ लिखित जाहेरी दिएका थिए ।

जाहेरीमा मन्टेस्वरीका सञ्चालक तथा प्रिन्सिपल गुरुङ, व्यवस्थापक अनिशा पोखरेल, सञ्चालक सुरेन रसाइली र कर्मचारी रमा सुनारलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाहीको माग गरिएको छ ।

उनीहरुले सानो साथी किन्डर गार्टेनका सञ्चालक मनोज गुरुङ तथा कर्मचारीमाथि ज्यानसम्बन्धी कसुरमा कानुनी कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

बालक हिजो हिजो असार २५ गते खाजा खाएर शौचालय जाँदा शौचालयको ढोकाअगाडि रहेको सेप्टिक ट्यांकभित्र खसेका थिए । सेप्टिक ट्यांकको प्वाल छोप्न मक्किएको प्लाइको प्रयोग गरिएका कारण त्यसमाथि लिम्बू हिँड्दा भित्र झरेका थिए ।

बालकलाई बेहोश अवस्थामा उद्दार गरी हिजो दिउँसो २ बजे अस्पताल भर्ना गरिएको थियो । उनको चिन्ताजनक अवस्थामा भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । बालक लिम्बूको फोक्सोमा पानी जमेर श्वासप्रश्वासमा गम्भीर समस्या भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer