२०८१ बैशाख २८ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

ज्यालाबृद्धिको माग गर्दै झापाका चिया श्रमिक आन्दोलित


बिर्तामोड, साउन १ । ज्यालाबृद्धिको माग गर्दै झापामा चिया श्रमिकहरू आन्दोलित बनेका छन् । उनीहरुले आइतबारदेखि आन्दोलन सुरु गरेका हुन् ।

उद्योगीसँग पटकपटक भएको वार्ता निष्कर्षविहीन बनेपछि श्रमिकले आन्दोलन सुरु गरेका हुन् । ज्यालाबृद्धि नगरेको विरोधस्वरुप श्रमिकले आइतबार चिया कारखाना तथा बगानमा कालो झण्डा राखेका थिए ।

‘पहिलो चरणमा साउन ७ गतेसम्म कालो झण्डा राख्ने, कोणसभा गर्ने लगायतका विरोधका कार्यक्रम तय गरेका छौँ,’ नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय संयोजक सन्तकुमार राईले भने ।

साउन ७ गतेसम्म पनि ज्यालाबृद्धि नभए थप कार्यक्रम तय गरेर आन्दोलनलाई अघि बढाउने उनले बताए । चिया श्रमिकले चार बुँदे माग राखी आन्दोलन सुरु गरेका हुन् ।

उनीहरुले गत वर्ष असार ५ गते नै श्रम ऐन २०७४ अनुसार ज्यालाबृद्धिलगायतको सेवा सुविधा माग गर्दै उद्योगीलाई लिखित पत्र बुझाएका थिए ।

पत्र बुझाएको एक वर्षसम्म पनि सुनुवाई नभएपछि कामसँगै आन्दोलन पनि सुरु गर्नु परेको चिया श्रमिक सावित्रा बन्जाडाले बताइन् ।

पछिल्लो तीन वर्षको महँगीका आधारमा २० प्रतिशत अर्थात हालको दैनिक ज्यालामा ८७ रुपैयाँ बृद्धि गर्नुपर्ने श्रमिकको माग छ ।

उद्योगीले भने यो वर्ष दैनिक ज्यालामा १५ रुपैयाँ र आगामी वर्ष थप १५ रुपैयाँ गरी ३० रुपैयाँसम्म ज्यालाबृद्धि गर्न सकिने अडान राखेका छन् ।
चिया श्रमिकको दैनिक ज्याला अहिले ४ सय ३५ रुपैयाँ छ । इकान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer