२०८१ जेठ १ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

पूर्वका पाँच सहरभित्र ट्राफिक नियम उल्लंघन गरे अब बैंकबाट जरिवाना भुक्तानी


बिर्तामोड, साउन ३ । ट्राफिक नियम उल्लंघन गरी सवारीसाधन चलाउने चालक र सवारी धनीले अब कोसी प्रदेशमा बैंकबाट जरिवाना भुक्तानी गर्नुपर्ने भएको छ ।

कोसी प्रदेशमा लागु हुनेगरी पहिलोपटक सोमबारदेखि बैंकमार्फत जरिवाना भुक्तानीको व्यवस्था मिलाइएको हो । यसअघि ट्राफिक कार्यालयमा नगदी रसिदमार्फत जरिवाना भुक्तानी हुँदै आएको थियो ।

पहिलो चरणमा विराटनगर, धरान, इटहरी, बिर्तामोड र दमक क्षेत्रभित्र जरिवाना भुक्तानीमा बैंकिङ प्रणाली लागु गरिएको कोसी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी श्यामकुमार महतोले जानकारी दिए ।

नगदी रसिदबाट हुँदै आएको भुक्तानीलाई प्रविधिमैत्री, पारदर्शी र व्यवस्थित बनाउन सुनसरीको इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले बैंकमार्फत दाखिला गर्नुपर्ने व्यवस्था मिलाएको हो ।

नियम उल्लंघन गरेबापत ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पूर्जीमा उल्लेख गरिएको राजश्वबापतको रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत दाखिला गरेपछि मात्रै कारबाहीका लागि खिचिएका कागजपत्र फिर्ता गरिने महतोले जानकारी दिए ।

सवारी चालकले नियम उल्लंघन गरेको अभिलेख व्यवस्थित गर्न ‘ट्राफिक भाइलेन्स रेकर्ड सिस्टम’ समेत लागु गरिएको एसपी महतोले बताए । यो प्रणालीअन्तर्गत अभिलेखमा चालकले पटकपटक गरेका कसूरको विवरण उल्लेख हुने उनको भनाइ छ ।

पाँचपटकभन्दा बढी सवारी नियम उल्लंघन गर्ने चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गरिने उनले जानकारी दिए । महतोका अनुसार पाँचपटकभन्दा बढी नियम उल्लंघन गरेमा चालकको लाइसेन्स निलम्बन हुने कानुनी व्यवस्था छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ बमोजिम प्रत्यायोजित अधिकार प्रयोग गरेर बैंकमार्फत जरिवाना भुक्तानी एवम ट्राफिक नियम उल्लंघनको अभिलेख व्यवस्थित बनाउने प्रणालीलाई प्रदेशका अन्य स्थानमा विस्तार गर्दै लगिने ट्राफिक प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer