२०८१ बैशाख २७ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

दमक फुटसलः मोडल, काँकरभिट्टा, सुकुना र मेची सेमिफाइनलमा


दमक, साउन १० । दमकमा जारी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको क्वार्टर फाइनल समीकरण पूरा भएको छ ।

दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भइरहेको प्रतियोगितामा आज सेमिफाइनलका दुई खेल र फाइनल प्रतिस्पर्धा हुनेछ ।

हिजो राति सम्पन्न खेलमा मोरङको सुकुना बहुमुखी क्याम्पस, काँकरभिट्टा बहुमुखी क्याम्पस, मेची बहुमुखी क्याम्पस र मोडल क्याम्पस दमक अन्तिम चारमा प्रवेश गरेका छन् ।

सुकुनाले महेन्द्र बहुमुखी क्याम्पस धरानलाई ७–० को फराकिलो गोल अन्तरले हरायो । काँकरभिट्टाले महेन्द्र मोरङलाई ६–२ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो ।

त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेलमा आयोजक दमकको बि टिमलाई मेचीले ५–० को गोलले हरायो । अन्तिम क्वार्टर फाइनलमा आयोजकको ए टिम मोडल क्याम्पस दमकसँग ७–३ गोल अन्तरले पराजित भयो ।

आज हुने पहिलो सेमिफाइनल खेलमा मोडल क्याम्पस दमकले काँकरभिट्टाको सामना गर्नेछ भने सुकुनाले मेचीसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

आयोजक युनियन सभापति सोविम न्यौपानेका अनुसार प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २१ वटा क्याम्पसले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको फाइनल खेल आज दिउँसो २ बजे हुनेछ ।

विपन्न विद्यार्थीहरु पढाइबाट बञ्चित हुन नदिन छात्रावृत्ति कोष निर्माणका लागि प्रतियोगिता आयोजना गरिएको हो । कोषका लागि पाँच लाख रुपैयाँ बचत गर्ने लक्ष्य रहेको न्यौपानेले बताए ।

प्रतियोगिताको विजेता टिमले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गर्नेछ । त्यस्तै, विधागत पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer