२०८१ जेठ १ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

जेट हटाएर तीनवटा एटिआर जहाज ल्याउँदै सौर्य एयरलाइन्स


बिर्तामोड, साउन २७ । जेट जहाजमार्फत उडान गर्दा यात्रुलाई सहज भए पनि खर्च धान्न मुस्किल भएपछि सौर्य एयरलाइन्सले एकैचोटि तीनवटा ‘एटिआर’ जहाज ल्याउने भएको छ । सौर्यले हाल दुईवटा जेट इन्जिन जहाजबाट आन्तरिक उडान गर्दै आएको छ ।

सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलका अनुसार आगामी ६ महिनाभित्र ७२ सिट क्षमतायुक्त तीन एटिआर जहाज ल्याउनेगरी आवश्यक तयारी पूरा भएको छ ।

जेट जहाजमार्फत उडान गर्दा खर्च धेरै भएकाले एटिआर जहाज खरिद गर्ने तयारी गरिएको पोखरेलले जानकारी दिए । लगानीकर्तामध्ये एक भारतको कुवेर ग्रुपसँग ६ महिनाभित्र एटिआर जहाज ल्याउनेगरी सम्झौता भइसकेको छ ।

जेट जहाजमार्फत उडान गर्दा यात्रुलाई सहज भए पनि खर्च धान्न मुस्किल भएपछि साझेदार कुवेर ग्रुपलाई एटिआर नल्याए बन्द गराउने उनले प्रस्ताव राखेका थिए । पोखरेलको प्रस्तावपछि कुवेर ग्रुप एटिआर जहाज खरिदका लागि तयार भएको हो ।

नयाँ जहाज खरिद गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणमा आवश्यक सहमतिका लागि पत्र पठाउने तयारीमा लागको पोखरेलको भनाइ छ ।

एटिआर जहाज आएपछि हाल भएका दुई जेट जहाजमार्फत भने उडान नहुने निश्चित भएको छ । ती जहाज बिक्री गर्ने वा कुवेर ग्रुपले निजी प्रयोजनका लागि भारत लैजाने मनसायसमेत बनाएको छ ।

यसैबीच, जेट जहाजबाट उडान गर्दै आएको सौर्यले एटिआर जहाज ल्याउने भएपछि त्यसका लागि नयाँ जनशक्ति आवश्यक पर्छ ।

एटिआर उडान गर्ने र मर्मत गर्ने पाइलटदेखि इन्जिनियरसहित नयाँ चाहिने भएकाले हालको जनशक्ति कटौती गरेर नयाँ थप्ने प्रक्रिया सौर्यले सुरु गरिसकेको छ ।

सौर्यले हाल काठमाडौँबाट विराटनगर, भद्रपुर, भैरहवा, पोखरा र धनगढी उडान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer