२०८१ जेठ १३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

सम्झौता भएको १५ वर्ष बित्यो, भद्रपुर क्रिकेट मैदानको काम शून्य !


-हिमाल खरेल

बिर्तामोड, भदौ २० । नेपाली क्रिकेट टिमले पहिलोपटक विश्व वरीयता राष्ट्रसँग मैदान साझेदारी मात्र गरेन, सम्मानजनक खेल खेल्दै वाहवाही पनि बटुल्यो । एशियन कपबाट नेपाल बाहिरिए पनि प्रदर्शन उच्च रह्यो ।

क्रिकेट मैदानको अभाव र देशको राम्रो लगानीबिना नै नेपाली खेलाडीले आफ्नो क्षमता प्रस्तुत गरेर एकपटक फेरि अब्बल पुष्टि गरेका छन् । तर, राज्य भने क्रिकेटमा लगानी गर्नेतर्फ एकदमै सुस्त देखिन्छ ।

झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा रहेको क्रिकेट मैदानको अवस्थाबारे न नेपाल क्रिकेट संघले ध्यान दिएको छ न सरकारलाई चासो छ । क्याम्पसको जग्गामा क्रिकेट मैदान निर्माण तथा सञ्चालन गर्ने सहमति भएको १५ वर्ष बितिसकेको छ । तर, काम भने शून्य ।

नेपाल क्रिकेट संघ र मेची बहुमुखी क्याम्पसबीच मेची क्याम्पस क्रिकेट मैदान सञ्चालनका लागि दुई पक्षीय सम्झौता भएको थियो । २०६५ जेठ २१ गते भएको सो सम्झौतामा संघको तर्फबाट सदस्य छत्रप्रसाद अधिकारी र क्याम्पसको तर्फबाट तत्कालीन क्याम्पस प्रमुख टिका प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

२०९० जेठ २० गतेसम्मका लागि क्याम्पसले संघलाई वार्षिक २५ हजार रुपैयाँ भाडा तिर्नेगरी क्याम्पस परिसरभित्र रहेको पुस्तकालयको उत्तरपूर्वको जग्गा उपलब्ध गराउने सम्झौता भएको थियो ।

सो ठाउँमा १५ वर्षको बीचमा मैदान सम्याउने कामबाहेक केही पनि हुन सकेको छैन । संघमा भएको राजनीतिकरण तथा आपसी खिचातानीको शिकार भद्रपुरको क्रिकेट मैदान पनि भएको हो ।

यअघि २०७८ माघमा संघका तत्कालीन १ नम्बर प्रदेश सचिव मनोज कटवालको नेतृत्वमा मैदानको अवस्था र सम्भाव्यत अध्ययनका लागि स्थलगत भ्रमण गरिएको थियो । भद्रपुर क्रिकेट मैदान बनेको खण्डमा बंगलादेश, भारत, नेपाल, भुटान सम्मिलित अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाहरु खेलाउन उपयुक्त हुने कटवालले बताए ।

सो मैदानमा २०६७ फागुनमा विनेश बर्मा स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगिता नेपाल सशस्त्र प्रहरी बलले जितेको थियो ।

मैदानमा नेपालका अधिकांश राष्ट्रिय खेलाडीहरुका साथै पूर्वकप्तान पारस खड्का, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, पूर्वकप्तान विनोद दास, शरद भेषावकरलगायत खेलाडीले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer