२०८१ जेठ १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

हल्दिबारी गाउँपालिकाद्वारा उपभोक्तालाई खानेपानी निःशुल्क वितरण


बिर्तामोड, भदौ २८ । झापाको हल्दिबारी गाउँपालिकाले स्थानीयबासीलाई खानेपानी निःशुल्क वितरण गर्न थालेको छ । गाउँपालिकाबासीमा शुद्ध खानेपानीको पहुँच पुर्याउने उद्देश्यले खानेपानी निःशुल्क वितरण गर्न थालिएको हो ।

शुद्ध खानेपानीको अभाव हुँदा विभिन्न रोगको सङ्क्रमण हुने गरेकाले खानेपानीलाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङदेनले बताए । ‘१० युनिट (१० हजार लिटर) सम्म पानी निःशुल्क उपलब्ध गराएका छौँ,’ उनले भने ।

यसअघि उपभोक्ताले मासिक १० युनिटसम्म खानेपानी खपत गर्दा १२० रुपैयाँ तिर्दै आएका थिए । सोभन्दा बढी खपत भएमा खपतका आधारमा उपभोक्ताले महशुल तिर्नुपर्नेछ ।

गाउँपालिकाले विपन्न स्थानीयबासीलाई धाराको मिटर निःशुल्क वितरण गरेको छ । गाउँपालिकाले ७५६ मिटर खरिद गरेर विपन्न परिवारलाई निःशुल्क वितरण गरेको गाउँँपालिकाका खानेपानी प्राविधिक पारस अधिकारीले जानकारी दिए ।

हल्दिबारीमा हाल तीन खानेपानी आयोजना छन् । तीमध्ये गोलधाप खानेपानी आयोजना र जलथल खानेपानी आयोजना सञ्चालनमा छ भने हल्दिबारी खानेपानी आयोजनाअन्तर्गत पाइपलाइन विस्तारको काम भइरहेको छ । प्रदेश सरकारको लगानीमा हल्दिबारी–२ मा पाइपलाइन विस्तारको काम भइरहेको प्रविधिक अधिकारीले बताए ।

हाल गोलधाप खानेपानी आयोजनाअन्तर्गत ७५६ उपभोक्ताले निःशुल्क खानेपानी उपभोग गर्दै आएका छन् । जलथल खानेपानी आयोजनाअन्तर्गत एक हजार छ सय उपभोक्ता लाभान्वित भएका छन् ।

खानेपानी निःशुल्क वितरणका लागि खानेपानी आयोजनाका कर्मचारीको तलब र विद्युत महशुल गाउँपालिकाले उपलब्ध गराउने गरेको छ ।

गाउँपालिकाले जलथल खानेपानी आयोजनाका चार कर्मचारीको तलब मासिक १५ हजार रुपैयाँका दरले तथा विद्युत् महशुल सरदर मासिक ५५ हजार रुपैयाँ र गोलधाप खानेपानी आयोजनाको तीन कर्मचारीको मासिक १५ हजार रुपैयाँका दरले उपलब्ध गराउँदै आएको छ ।

कर्मचारीको तलब र विद्युत महशुल तिरिदिएबापत ती खानेपानी आयोजनाले उपभोक्तालाई मासिक १० युनिटसम्म खानेपानी निःशुल्क उपलब्ध गराउँदै आएका छन् ।
–रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer