२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

२८ करोडमा बनेको मेचीनगरको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन


मेचीनगर, असोज २१ । कोरोना संक्रमण नियन्त्रणका लागि भारतबाट आउने नागरिकलाई राख्न झापाको मेचीनगर–१४ दुवागडीमा निर्माण भएको होल्डिङ सेन्टर प्रयोगविहीन भएको छ । एक वर्षअघि नै निर्माण सम्पन्न भएको होल्डिङ सेन्टर प्रयोगविहीन बनेको हो ।

कोरोनाको समयमा पूर्वी नाका काँकरभिट्टादेखि आउने नेपालीलाई राख्न भनेर एक हजारजना क्षमताको होल्डिङ सेन्टर बनाइएको थियो । होल्डिङ सेन्टर अहिले तयारी अवस्थामा छ । तर, कोरोना महामारी नियन्त्रणसँगै करिब २८ करोड रुपैयाँमा निर्माण भएको होल्डिङ सेन्टर प्रयोगविहीन भएको छ ।

होल्डिङ सेन्टर नेपाली सेनाको चारआलीस्थित अरिदमन गणको जिम्मामा छ । होल्डिङ सेन्टरको संरक्षण अहिले पनि नेपाली सेनाले गर्दै आएको छ । रक्षा मन्त्रालयले कसैलाई पनि हस्तान्तरण नगरेका कारण होल्डिङ सेन्टर प्रयोगविहीन भएको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए ।

रक्षा मन्त्रालयले एकपटक यसको हस्तान्तरणका बारेमा सोधेको उनले बताए । ‘रक्षा मन्त्रालयले एक पटक सोधेको थियो । नगरपालिकालाई दुईवटा ब्लक दिनुपर्छ जसमा नगर स्वास्थ्य केन्द्र चल्नसक्छ । एउटा रेडक्रसलाई दिने, केही क्वारेन्टाइनका रूपमा राख्ने र बाँकी सेना मातहत राख्न सकिन्छ भनेर सुझाव दिएका थियौँ,’ पोखरेलले भने, ‘तर, त्यो पनि त्यतिकै हरायो । निर्णय नै नभएपछि सेनाले रुँगेर बसिरहेको छ ।’

विगतमा स्थानीय तहलाई हस्तान्तरण हुने चर्चा भए पनि आफूहरु मातहत होल्डिङ सेन्टर नआएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले बताइन् । ‘हामीलाई हस्तान्तरण गरेर चलाउनु भनेदेखि हामी त्यहीअनुसारको व्यवस्थापन गर्ने थियौँ,’ उनले भनिन्, ‘यसलाई अस्पतालको रूपमा हामीले प्रयोगमा ल्याउनसक्थ्यौँ ।’

हरेक होल्डिङ सेन्टरमा एक हजार बेड क्षमताका २२ देखि ५१ ब्लक छन् । होल्डिङ सेन्टरमा क्वारेन्टिन, चिकित्सक कक्ष, शौचालय, भान्साघरसहितका ब्लक छन् । ब्लकको दुवैतर्फ शौचालय निर्माण गरिएको छ । आइसोलेसन र शौचालय ब्लक गरी दुई भागमा बाँडिएको छ । हजार बेडमध्ये सय बेडमा अक्सिजनको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer