२०८३ जेठ ५ मंगलबार
Jhapa Today
Adv top

दुर्घटनामा घाइते कमलका दुलालको मृत्यु


बिर्तामोड, जेठ ५ । झापाको कमल गाउँपालिका–२ समयगढस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा कमल गाउँपालिका–२ निवासी ७६ वर्षीय धान्यप्रसाद दुलाल रहेका छन् । उनी ५ दिनअघि दुर्घटनामा परेका थिए ।

बैशाख ३१ गते दिउँसो करिब ३ः३० बजे क्याम्पा बजारबाट छलफल चोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ९२४७ नम्बरको मोटरसाइकलले पैदलयात्री दुलाललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुलाललाई प्रारम्भिक उपचारका लागि कमल नगर अस्पताल क्याम्पा लगिएको थियो । त्यहाँ उनको प्राथमिक उपचार मात्र गरिएको थियो ।

अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा रेफर गरिएको थियो । उपचारकै क्रममा उनको २०८३ जेठ ४ गते बेलुका करिब ८ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक दमक नगरपालिका–४ निवासी २४ वर्षीय प्रविण ढुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Adv footer