२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा छठ पूजाको सुरक्षाका लागि ९३६ सुरक्षाकर्मी परिचालन हुने


बिर्तामोड, मंसिर ३ । झापाका विभिन्न नदी तथा खोला किनारमा मनाइने छठ पूजाको लागि सुरक्षाका लागि ९३६ जना सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

छठ पूजाका लागि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । छठ पूजाका लागि ५१० सशस्त्र प्रहरी, ३७१ नेपाल प्रहरी र ५५ जना ट्राफिक प्रहरी परिचालन गरिने जनाइएको छ ।

सबैभन्दा बढी सुरक्षाकर्मी भद्रपुरस्थित सीमावर्ती मेची नदीमा परिचालन गरिने भएको छ । मेची नदीलाई लक्षित गरी १०५ जना सशस्त्र प्रहरी, ७५ जना नेपाल प्रहरी र ९ जना ट्राफिक प्रहरी खटाइँदैछ । कनकाईको बिरिङ नदीमा ५५ जना सशस्त्र प्रहरी, ३० जना नेपाल प्रहरी र १३ जना ट्राफिक प्रहरी खटाइँदैछ ।

धुलाबारीको निन्दा नदीमा ४९ जना सशस्त्र प्रहरी, ३० जना नेपाल प्रहरी र १० जना ट्राफिक प्रहरी खटाइँदैछ । दमकको रतुवा नदीमा ४० जना सशस्त्र प्रहरी, ५० जना नेपाल प्रहरी र १० जना ट्राफिक प्रहरी खटाइँदैछ ।

झापाका ४९ स्थानमा छठ पूजा मनाए पनि मेची, निन्दा, बिरिङ र रतुवा नदीको किनारमा भक्तजनहरुको बढी भीडभाड हुने भएकोले त्यहाँ ठुलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

छठ पूजामा हुन सक्ने सम्भावित आपराधिक तथा उच्छृंखल गतिविधि रोक्न विभिन्न स्थानमा प्रहरी बिट, पैदल गस्ती, मोबाइल गस्ती परिचालन गरिने उनले बताए ।

साथै, राजमार्गहरुमा पनि प्रहरीको मोबाइल गस्ती टोली छुट्टै परिचालन गरिने उनको भनाइ छ । छठ पूजा स्थलहरुमा हुने सवारीसाधनको जामलाई मध्यनजर गरी भद्रपुरको मेची पुल, रतुवा पुल, निन्दा पुल, कनकाईको बिरिङ पुल, अर्जुनधाराको बिरिङ पुललाई लक्षित गरी ट्राफिक प्रहरी खटाइएको जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer