२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

चुहिन थालेपछि बुद्धशान्तिको वडा कार्यालयमाथि अख्तियारको छानबिन


मेचीनगर, मंसिर २१ । वडा कार्यालयको भवन निर्माणमा गुणस्तरहीन सामान प्रयोग गरेको उजुरी परेपछि झापाको बुद्धशान्ति-२ को वडा कार्यालयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

वडा कार्यालयको नवनिर्मित कार्यालय भवन चुहिएर चर्कन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयले छानबिन सुरु गरेको हो । भवन निर्माणमा कमसल सामग्री प्रयोग गरेर अनियमितता गरेको भन्दै स्थानीयले उजुरी दिएका थिए ।

अख्तियारको प्राविधिकसहितको छानबिन टोलीले बुधवार वडा कार्यालय भनवको निरीक्षण तथा नापजोख गर्दै स्थानीय र उपभोक्ता समितिका केही पदाधिकारीसँग सोधपुछ गरेको छ ।

दुई वर्षअघि लगभग ७२ लाख रुपैयाँको लागतमा निर्माण भएको कार्यालय भवनमा पानी चुहिने गरेको छ । भवन निर्माण भएको एक वर्षपछि नै चर्किएको थियो । भवन चर्किने र चुहिने भएपछि स्थानीयले अख्तियारमा उजुरी गरेका हुन् ।

तत्कालीन वडा अध्यक्ष दिलिपकुमार श्रेष्ठले उपभोक्ता समिति गठन गरेर ठेकेदारमार्फत भवन निर्माण गराएका थिए ।
अध्यक्ष श्रेष्ठले भवन निर्माण उपभोक्ता समिति बदनियतपूर्ण तरिकाले गठन गरेको स्थानीयको आरोप छ । उपभोक्ता समितिले भवन निर्माण गर्न स्थानीय झरेन्द्र श्रेष्ठलाई ठेक्का दिएको थियो ।

वडाध्यक्षले स्थानीयको उपस्थितिमा उपभोक्ता समिति गठन नगरी गुपचुप गठन गरेको स्थानीयको आरोप छ ।

अख्तियारमा उजुरी परेपछि उपभोक्ता समितिका पदाधिकारीले चर्किएको भवन टाल्न लगाएका थिए । निर्माणमा भएको कमजोरी लुकाउन टाल्न थालेपछि स्थानीयले विरोध गरेका थिए ।

उनीहरुले चर्किएको ठाउँ टाले पनि रंगरोगन गर्न भने दिएनन् । स्थानीयले भवन निर्माणको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer