२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बचतकर्ताको रकम फिर्ता नगरी दमकको नवरङ्ग साकोसका सञ्चालक सम्पर्कविहीन


दमक, मंसिर २५ । झापाको दमक-६ मा रहेको नवरङ्ग बचत तथा ऋण सहकारी संस्था बचतकर्ताको लाखौँ रुपैयाँ फिर्ता नगरी बन्द भएपछि बचतकर्ता मारमा परेका छन् ।

दसँैअघि नै बन्द गरेर संस्थाका सञ्चालकहरु सम्पर्कविहीन छन् । संस्थामा आफ्नो बचत रकम फिर्ताको लागि कार्यालय समयमा पटकपटक गए पनि कार्यालय बन्द रहेको देखेपछि आफू आश्चर्यमा परेको बचतकर्ता चेसुङ लिम्बूले बताइन् ।

सम्पर्कमा आएका सञ्चालक र कर्मचारीले रकम फिर्ता नदिई उल्टै बचतकर्ताहरुमाथि गैरजिम्मेवारपूर्ण जवाफ दिने गरेका छन् ।

कोसी प्रदेश सहकारी रजिस्टार कार्यालय इनरुवाका निमित्त रजिस्टार हरिबहादुर खत्रीले सो सहकारी संस्था बन्द रहेको भन्ने सूचना पाएर आफूहरु पटकपटक कार्यालय खोल्ने प्रयासमा लागेको तर संस्थाका सञ्चालकहरु नै पत्ता नलागेको बताए ।

सो सहकारीबाट पीडितहरुले प्रहरी कार्यालय वा सहकारी रजिस्टारको कार्यालयमा आएर प्रमाणसहित उजुरी दर्ता गराउन सक्ने निमित्त रजिस्टार खत्रीले जानकारी दिए ।

उनले कार्यालय बन्द रहेका कारण सो संस्थामा बचतकर्ताको रकमका बारेमा यकिन हुन नसकेको र चाँडै कार्यालय खोलेर आवश्यक प्रक्रिया अघि बढाइने बताए ।

दमक नगरपालिकाका सहकारी शाखा प्रमुख इच्छाराम चम्लागाईंका अनुसार सो सहकारीले अन्य पालिकामा समेत कारोबार गर्ने अनुमति लिएको कारण यसको दमक नगरपालिकाको नियमन क्षेत्रभन्दा बाहिर रहेको छ ।

सहकारीमा सर्वसाधारणको बचत रकम कति थियो भन्नेसम्म थाह हुन सकेको छैन । सो संस्था आर्थिक वर्ष २०६९/०७० मा डिभिजन सहकारी कार्यालय चन्द्रगढी झापामा दर्ता भएको रेकर्ड छ ।

यसअघि विराटनगरको तुलसी बहुमुखी सहकारीको दमक शाखाले, दमकको नारायणी बचत तथा ऋण सहकारी संस्थाले, स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्था र त्यसअघि दमकमै गरिबी निवारण नामक सहकारी संस्थाका नाममा बचतकर्ताहरुको करोडौँ रकम हिनामिना भएको तथ्यहरु बाहिर आइसकेका छन् ।

तीमध्ये स्वर्गपुरी सहकारी संस्था र हाल बन्द रहेको नवरंग बचत तथा ऋण सहकारी संस्थाका नाममा वित्तीय ठगी धन्दा गर्ने गिरोह एकापसमा सम्बन्धित रहेको कतिपय जानकारहरुले बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer