२०८३ जेठ ५ मंगलबार
Jhapa Today
Adv top

प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरमा मलद्वारमा हुने रोगको उपचार सुरु


दमक, मंसिर २६ । झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरले पायल्स, फिस्टुला, फिसर जस्ता मलद्वारमा हुने रोगको जाँच तथा उपचार सुरु गरेको छ । सोमबार र मंगलवार बृहत् आयुर्वेद स्वास्थ्य शिविरसहित यो सेवा सुरु गरेको हो ।

कोशी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्ले सोमबार उद्घाटन गरेको आयुर्वेद स्वास्थ्य शिविरमा पाँच सयजनाभन्दा बढी बिरामीले निःशुल्क जाँच तथा उपचार पाएको जनाइएको छ । क्षारसूत्र विधिबाट पायल्सका बिरामीको उपचार पनि सुरु गरिएको अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुरले बताए ।

शिविरमा आएका बिरामीहरूको निःशुल्क रुपमा सबै प्रकारका जाँच, उपचार र औषधि वितरण गरिएको छ । डा. ठाकुरको नेतृत्वमा डा.रमेश पौड्याल (सर्जन), डा.निर्मल भुसाल (फिजिसियन), डा. मिथिलेश शाह, डा.मिशान्त ढकाल लगायतले जाँच तथा उपचार गरेको कविराज वेदप्रकाश शर्माले बताए ।

अस्पतालको स्तरउन्नतिसहित सेवा विस्तारको क्रममा अब नियमित रुपमा पायल्स, फिस्टुला, फिसर जस्ता मलद्वारमा हुने रोगको जाँच तथा उपचार सुरु गरिएको पनि अस्पतालका निमित्त निर्देशक डा.ठाकुरले जनाए ।

५० बेड क्षमताको आयुर्वेद अस्पतालमा इमरजेन्सी लगायतका सेवा समेत सुरु गर्न लागिएको छ । डा. ठाकुर आउनुअघि अस्तव्यस्त र सेवाविहीन रहेको अस्पतालले ६ महिनामा फड्को मार्दै गएको जनाइएको छ ।

पञ्चकर्म, भिडियो एक्स रे, ल्याब सेवा सुरु गरेपछि बिरामीको चाप समेत बढेको बताइएको छ । सरकारले तोकेका औषधिहरू बिरामीले निःशुल्क पाउँदै आएका छन् ।

Adv footer