२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

आज मध्यरातमा नेपालबाट उल्का वर्षाको रमाइलो दृश्य देखिने


बिर्तामोड, मंसिर २८ । नेपालमा स्थानीय समयानुसार बिहीबार मध्यरातपछि उल्का वर्षा अवलोकन गर्न पाइने भएको छ ।

वाल्मीकि विद्यापीठमा ज्योतिषशास्त्रका प्राध्यापक डा. जयन्त आचार्यका अनुसार नेपालको जुनसुकै ठाउँबाट बिहीवार मध्यरातपछि बिहानीपख ३–४ बजेसम्म उल्का वर्षालाई अवलोकन गर्न सकिन्छ । यो उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिन्छ ।

नेपालको जुनसुकै ठाउँबाट पूर्वतिर फर्किएर आकाशमा हेर्ने हो भने राति १२ बजेदेखि बिहान ३–४ बजेसम्म जेमिनिड्स उल्का वर्षा देखिन्छ । यो धेरै संख्यामा स्पष्ट देखिने भएकाले अरु उल्का वर्षाभन्दा विशेष मानिएको छ ।

यदि आकाश खुलेको रहेछ भने नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिन्छ । खगोलविदहरुले यो उल्का वर्षालाई ‘जेमिनिड्स’ नाम दिएका छन् । आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यो उल्का वर्षालाई वैज्ञानिकहरुले ‘जेमिनिड्स’ नाम दिएका हुन् ।

वैज्ञानिकहरुका अनुसार जेमिनिड्स उल्का वर्षा हरेक वर्ष डिसेम्बर मध्यतिर हुन्छ । यस वर्ष यो २० डिसेम्बरसम्म हुनेछ । तर उत्कर्षमा पुग्ने बिहीबार र शुक्रबार हो । त्यसैले यसलाई अवलोकन गर्ने उपयुक्त दिन बिहीबारलाई लिइएको छ ।

नेपालसहित संसारका सबै भागबाट प्रत्येक घण्टा १०० देखि १२० वटासम्म जेमिनिड्स उल्का वर्षा देख्न सकिने बताइएको छ ।
नासाले जेमिनिड्सलाई यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ । किनकि यो उल्का वर्षा विभिन्न रंगमा देखिनेछ ।

आगोको गोलाजस्तो रंगीचंगी वस्तु आकाशबाट तलतिर खसिरहेको देखिने भएकाले यो रोचक खगोलीय घटना अवलोकनमा उत्सुकता बढेको छ ।

उल्का वर्षा के हो ?

पुच्छ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ वा उल्कापात पनि भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer