२०८१ बैशाख २० बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापा बजारमा भेटिएको म्याद गुज्रिएका सामान गाउँपालिकाद्वारा नष्ट


बिर्तामोड, मंसिर २९ । पुरानो सदरमुकाम झापा बजारमा बिक्रीका लागि राखिएको म्याद गुज्रेका उपभोग्य सामानहरु झापा गाउँपालिकाले जफत गरी नष्ट गरेको छ ।

बजार अनुगमनका क्रममा पसलहरुमा म्याद गुज्रिएका सामान भेटिएपछि गाउँपालिकाले जफत गरी नष्ट गरेको हो । नेपालमा प्रतिबन्धित भारतीय दो फूल ब्रान्डका खानेतेल अधिकांश किराना पसलहरुमा भेटिएको थियो ।

प्रतिबन्धित खानेतेल भेटिएपछि अब उप्रान्त नबेच्न पसल सञ्चालकहरुलाई सचेत गराइएको छ । अनुगमन टोलीले माछा मासु पसल, खाद्यान्न पसल, औषधि पसल, रेडिमेट कपडा, स्टेशनरी पसल, सुन पसल, होटल, कस्मेटिक पसल, आँखा अस्पताल, डेरीलगायतमा अनुगमन गरेको थियो ।

टोलीले बजार अनुगमन गर्दा अधिकांश पसलहरु आन्तरिक राजश्व कार्यालयमा दर्ता रहे पनि स्थानीय निकायमा दर्ता नभएको झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृृत गजेन्द्र थपलियाले बताए ।

थपलियाले उपभोक्ताहरुले देख्नेगरी मूल्यसूची राख्न, बीलबिजक जारी गर्न, म्याद नाघेका सामग्री बेचबिखन नगर्न, खरिद बील राख्न, व्यवसाय दर्ता तथा नवीकरण गर्न र स्थानीय निकायमा सात दिनभित्र दर्ता हुन आउन अनुरोध गरेका थिए ।

झापा आफ्ना पालिकाभित्र रहेका बजारहरुको आजदेखि अनुगमन सुरु गरेको हो । पालिकाका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलिया नेतृत्वको टोलीले गाउँपालिकाको मुख्य बजार झापा बजारबाट अनुगमन थालेको हो ।

अनुगमन टोलीमा कार्यवाहक अध्यक्ष थपलिया, प्रमुख प्रशासकीय अधिकृत थपलिया, वडा नम्बर २ का वडा अध्यक्ष हिमालकुमार चम्लागाईं, उद्योग वाणिज्य संघका अध्यक्ष ठोमनाथ नेपाल, वरिष्ठ उपाध्यक्ष मनोजकुमार गणेश, बजार व्यवस्थापन समितिका अध्यक्ष बरतलाल राजवंशी, इलाका प्रहरी कार्यालय कुमरखोदका प्रमुख कुलबहादुर मगर, सशस्त्र प्रहरी बिओपी टाघनडुब्बा प्रमुख अर्जुन ढकाल, स्वास्थ्य शाखा प्रमुख प्रेमप्रसाद न्यौपाने, राजश्व शाखा प्रमुख चन्द्रमणि तिम्सिना, कृषि तथा पशु शाखा प्रमुख जगतनारायण मण्डल, प्रशासन शाखा प्रमुख पूर्णचन्द्र मैनाली र सञ्चारकर्मी केशव चापागाईं रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer