२०८१ बैशाख २६ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

बिहान उठ्नुअघि र पछि गर्नुपर्ने काम


बिर्तामोड, पुस ५ । व्यस्त जीवनशैलीले अधिकांश मानिस आफ्नो दैनिकीमा ध्यान दिइरहेका हुँदैनन् । दिनभर कामको चिन्तामा कसरी बित्छ भन्ने पत्तै हुँदैन । यस्तोमा बिहानको समय पनि हामीले राम्ररी बिताएनौं भने त्यसको प्रभाव दैनिकीमा पर्छ ।

बिहानको सुरुवात राम्रो भए दिनभर नै शरीर चुस्त र फूर्तिलो हुन्छ भनिन्छ । त्यसैले बिहान उठेपछि के गर्ने भन्नेमा विशेष ध्यान दिनुपर्छ । बिहान उठ्नासाथ के गर्ने भन्ने विषयमा प्राकृतिक चिकित्सक दिपा पाण्डेले दिएको सुझाव :

सधैँ एउटै समयमा उठ्ने

बिहान सूर्योदयभन्दा अघि उठ्न सकिन्छ भने एकदमै राम्रो हुन्छ । सूर्योदयअघि उठ्न सकिँदैन भने पनि हरेक बिहान एकै समयमा उठ्ने प्रयास गर्नुपर्छ । हरेक दिन एकै समयमा उठियो भने शरीर चक्र कायम रहन्छ । त्यसमा परिवर्तन भयो भने मन पनि विचलित हुन सक्छ ।

बेडबाट उठ्नुअघि शरीरलाई स्ट्रेचिङ गर्ने

सुतेको समयमा हाम्रो शरीरको मांसपेशी, खासगरी मेरुदण्डको हड्डी कठोर भएको हुन्छ । जसलाई सामान्य अवस्थामा फर्काउन शरीरलाई स्ट्रेच गर्नुपर्छ । तीन–चारपटक शरीर स्ट्रेच गर्ने र बायाँ फैलिएर सकारात्मक ऊर्जालाई महसुस गर्ने गर्दा दिनभर शरीर चुस्त र फूर्तिलो बन्छ ।

मनतातो पानी पिउने

बिहान उठेपछि पानी पिउने बानी बसाल्नुपर्छ । आफ्नो इच्छाअनुसार मनतातो वा चिसै पनि पानी पिउन सकिन्छ । यसले गर्दा शरीर हाइड्रेटेड मात्र रहँदैन, दिसा पिसाबमा पनि सहज हुन्छ । यसले दिनभर पेटमा ग्यासको समस्या हुँदैन ।

शौचालय जाने

बिहान ५ देखि ६ बजेसम्मको समय शौचालय जानका लागि उत्तम हुन्छ । वास्तवमा, यस समयमा हाम्रो शरीरमा अधिक हावा हुन्छ, जसले दिसालाई राम्रोसँग बाहिर निस्कन मद्दत गर्छ । त्यसैले समयमै दिसा पास गर्न सजिलो हुन्छ ।

मर्निङवाक

बिहान उठेर तुरुन्तै अफिस जान हतार गर्नु हुँदैन । बिहानको समयमा करिब २० देखि ३० मिनेट हिंड्ने वा दौडिने समय निकाल्नुपर्छ । यसले शरीरमा रक्तसञ्चार बढाउँछ, जुन स्वास्थ्यका लागि राम्रो हुन्छ ।

बिहानको नास्ता

राति खाना खाएर सुतेपछिको कम्तिमा ९–१० घण्टा हाम्रो पेट खाली हुन्छ । यसपछि गरिने नास्ताले शरीरको ऊर्जा र पोषक तत्त्वको भण्डारलाई भरपाई गर्छ । बिहानको नास्ताले शरीरको पाचन यन्त्रलाई सक्रिय बनाउँछ र दिनभरको लागि ऊर्जा प्रदान गर्ने विभिन्न अध्ययनमा उल्लेख छ । बिहान उठेपछि मस्तिष्क र मांसपेशीलाई सक्रिय बनाउन पनि बिहानको नास्ता महत्त्वपूर्ण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer