२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सहारा नेपालको विश्वास परियोजनाले सुधार्दै ग्रामीण स्वास्थ्य


बिर्तामोड, पुस ११ । गैरसरकारी संस्था सहारा नेपालले सञ्चालन गरेको विश्वास परियोजनाबाट उपेक्षित तथा उष्णप्रदेशीय रोग, मातृ शिशु स्याहार र अपांगता भएका व्यक्तिहरुको स्वास्थ्यमा सुधार आएको छ ।

परियोजना सञ्चालनको दुई वर्षमा यसको प्रभाव कोशी प्रदेशका तीन जिल्लामा देखिन थालेको हो । फेयरमेड फाउन्डेसन नेपासँगको साझेदारीमा झापा, मोरङ र सुनसरीमा परियोजना सञ्चालन भइरहेको छ ।

स्थानीय स्वास्थ्य प्रणालीलाई सुदृढ पार्दै समुदायलाई परिचालन गरी नागरिकको स्वास्थ्य सुधार गर्ने मुख्य लक्ष्य परियोजनाको रहेको छ ।

ग्रामिण भेगका विपन्न नागरिकको स्वास्थ्यप्रतिको अधिकार स्थापित गर्नका लागि चेतनामुलक कार्य अघि बढाइएको सहारा नेपालका सचिव महेन्द्रकुमार गिरीले जानकारी दिए ।

विभिन्न १० प्रकारका रोगहरुको न्यूनीकरणका निम्ति नेपाल सरकारले अघि सारेको नीतिअनुसार सहकार्य गर्दै आएको उनले बताए ।

कुष्ठरोग, हात्तीपाइले, जुका, डेंगी, कालाजार, सर्पदंश, रेबिज, लुतो र फित्तेजुकाको जोखिमलाई कम गर्न फोकस क्षेत्र घोषणा गरी कार्य गर्दै आएको जनाइएको छ ।

कार्यक्रमका फोकल पर्सन पवनकुमार राईले परियोजना सुरु भएको दुई वर्षमा नै प्रभाव देखिन थालेको दाबी गरे । चार वर्षसम्म सञ्चालन हुने परियोजना अरु चार वर्ष थपका लागि प्रक्रिया अघि बढेको छ ।

सामाजिक संस्कार, लाज र डरका कारण कतिपय रोगहरु लुकाउने गर्नाले समस्या जटिल बन्ने गरेको छ । झापा गाउँपालिकामा अहिले अस्पतालमा सुत्केरी गराउन मुस्लिम समुदायका महिलाहरु आउने थालेका छन् ।

यसलाई परियोजनाको उपलब्धिका रुपमा लिन सकिने सहारा नेपालका परियोजना संयोजक मातृका सुवेदीले बताए । सहाराले बर्थिङ सेन्टर सञ्चालनका लागि करिब ८ लाख मूल्यबराबरको उपकरण प्रदान गरेपछि त्यहाँ सुत्केरी गराउन आउनेको संख्या बढेको हो ।

स्वास्थ्य क्षेत्रको सुधारमा १० प्रकारका रोगसँग सम्बन्धित रहेर सरसफाइ, जनचेतनामुलक कार्य लगायतका गतिविधि सञ्चालन गर्न २२ करोड रकम परियोजनालाई प्राप्त भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer