२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

नेपाल सुपर लिगः उपाधिका लागि दुई झापाली भिड्दै


बिर्तामोड, पुस १४ । नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा आज दुई झापालीबीच रोमाञ्चक भिडन्त हुँदैछ । उपाधिका लागि ललितपुर सिटी एफसी र धनगढी एफसी खेल्दै छन् ।

साँझ ५ बजे काठमाडौँको दशरथ रंगशालामा हुने फाइनल भिडन्तमा दुवै टोलीका कप्तान झापाका हुन् । ललितपुरका कप्तान डिफेन्डर अनन्त तामाङ शिवसताक्षीका हुन् भने धनगढीका कप्तान डिफेन्डर देवेन्द्र तामाङ अर्जुनधाराका स्थायी बासिन्दा हुन् ।

धनगढी लगातार दोस्रोपटक फाइनलमा प्रवेश गर्दा ललितपुरले पहिलोपल्ट उपाधि प्रतिस्पर्धाको अनुभव लिँदैछ । दुवै टोलीले प्लेअफमा पोखरा थन्डर्सलाई हराउँदै फाइनलसम्म यात्रा तय गरेका हुन् ।

लगातार दोस्रोपटक फाइनल पुगेको धनगढी यसपालि भने उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रने छ । ललितपुर पहिलोपटक उपाधिनजिक पुगेको हो । ललितपुर पनि पहिलोपटकमै उपाधि उचाल्ने लक्ष्यमा हुनेछ ।

खेलअघि दुवै टोलीका प्रशिक्षकले जितको लागि तयार रहेको बताएका छन् । धनगढीका प्रशिक्षक युगलकिशोर राईले आफ्नो टोली शारीरिक र मानसिक दुवै रूपमा तयार रहको बताए । दुवै टोली उत्तिकै बलिया भएकाले खेल प्रतिस्पर्धात्मक हुने उनले अनुमान गरे ।

ललितपुरका प्रशिक्षक गिलानले लगातारको खेलले केही समस्या हुने भए पनि फाइनलमा आफ्नो शतप्रतिशत दिने बताए । साथै, उनले फाइनल रोमाञ्चक हुने अपेक्षा राखे ।

विजेताले ७० लाख रुपैयाँ प्राप्त गर्ने छन् । अघिल्लो संस्करणको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गरेको थियो । यसैगरी उपविजेता २० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताका सार्वेकृष्ट खेलाडी (गोल्डेन बल) ले २ लाख, सर्वाधिक गोलकर्ता (गोल्डेन बुट) र उत्कृष्ट गोलकिपर (गोल्डेन ग्लोभ) ले समान १–१ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यसपालि ९ टोलीले एनएसएलमा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer