२०८१ जेठ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

ठेकेदारले प्रमुख प्रशासकीय अधिकृतलाई धम्क्याएपछि मेचीनगरमा तनाव


मेचीनगर, पुस १६ । झापाको मेचीनगर नगरपालिकाको कार्यालय र वरिपरि शुक्रबारदेखि ठुलो संख्यामा प्रहरी खटाइएको छ ।

स्थानीय प्रशासनले प्रहरी नायव निरीक्षकको कमाण्डमा टोली नै परिचालन गरेको छ । यसको कारण हो, ठेकेदारले मेयरकै कार्यकक्षमा प्रमुख प्रशासकीय अधिकृतलाई गरेको अभद्र व्यवहार र धम्की ।

घटना शुक्रबार साढे १० बजेको हो । नगरपालिकाभित्रका हडिया, टिमाई, निन्दा तथा मेची खोलाबाट नदीजन्य पदार्थ उत्खनन, संकलन, बिक्री र शुल्क असुलीका विषयमा नगरपालिका कार्यालयमा छलफल भइरहेको थियो ।

नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले जारी गरेको विज्ञप्ति अनुसार खोला तथा नदीबाट ढुंगा तथा बालुवा उत्खननको लागि सूचना आह्वान गरेको तीनपटकसम्म ठेक्का लागेन ।

त्यसपछि नगरस्तरीय राजश्व परामर्श समितिको सिफारिसमा कुन प्रक्रियाबाट नदीजन्य पदार्थ उत्खनन, संकलन र बिक्री गरी आम्दानी गर्न सकिन्छ भन्ने विषयमा छलफल आह्वान गरिएको थियो ।
सोही क्रममा पहिले नदीजन्य पदार्थ उत्खननको ठेक्का लिएका ठेकेदार राजकुमार थापा र उनीसँगै आएका प्रभात राईले विगतको ठेक्काबाट संकलन भई स्टकमा रहेको नदीजन्य पदार्थको निकासी ढुवानीको बारेमा प्रश्न गरेका थिए ।

नगरप्रमुख बुढाथोकीले सम्बन्धित निकायहरुसँग समन्वय गरी कानुनी जटिलता फुकाई निकास निकाल्ने बताएका थिए । त्यसै क्रममा नगर प्रमुखको कार्यकक्षमै थापा र राईले प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीलाई अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेका थिए ।

विज्ञिप्तमा भनिएको छ, ‘कन्ट्याक्टर राजकुमार थापा र निजको साथ लागि आएका सुने अनुसार प्रभात राई समेतबाट दूरासय राखी सभ्य समाजले सहन गर्न नसक्ने गरी अमर्यादित अशिष्ट र अभद्र एवं हर्कतपूर्ण व्यवहार नगर प्रमुखको कार्यकक्षमा नै भयो ।’

नगरप्रमुख र उपप्रमुखले उक्त व्यवहारले नगरपालिकाको संवैधानिक, कानुनी एवम संस्थागत मर्यादामा आँच पु¥याउने भन्दै त्यस्तो व्यवहार गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न पनि माग गरेका छन् ।

धम्की दिने नै मेयरको कार्यकक्षमा छन: कर्मचारी

नगरपालिकाका एक कर्मचारीका अनुसार नगरप्रमुखकै सामुन्ने ठेकेदारले प्रमुख प्रशासकीय अधिकृत माथि अपशब्द प्रयोग गर्दै हातपात गर्न खोजेका थिए र अरु कर्मचारीले रोकेका थिए । ‘ठेकेदारहरुले कुट्न खोजेपछि हामीले छेक्यौँ, त्यसपछि मेयरकै अगाडि धम्की दिएर हिँडे । त्यसपछि प्रमुख प्रशासकीय अधिकृतलाई नेपाल प्रहरीले सुरक्षा दिएर राखेको छ’, ती कर्मचारीले भने ।

ती कर्मचारीका अनुसार अहिले प्रमुख प्रशासकीय अधिकृतलाई सरकारी निवासबाहिर नै प्रहरीको सुरक्षा दिएर राखिएको छ । ‘शुक्रबार कार्यालयमै आएर कुटपिटको प्रयास गर्ने, धम्की दिने ठेकेदारहरु आज कार्यालय खुल्नेबित्तिकै मेयरको कार्यकक्षमा आएर बसेपछि प्रमुख प्रशासकीय अधिकृतले पक्राउ पर्नुपर्ने मान्छे मेयरसँग किन आएको भन्दै प्रश्न गरेपछि फेरि तनाव भएको थियो’, ती कर्मचारीले भने ।

प्रमुख प्रशासकीय अधिकृत भने दिनभरि जिल्ला प्रशासन कार्यालयमा बसेका थिए । ‘जसले कुट्न खोज्यो, ऊ नै मेयरको कोठामा आएर बसेको छ, यहाँ कर्मचारीले कसरी काम गर्न सक्छन् ?’ मेचीनगरको स्थानीय तह कर्मचारी हकहित संघर्ष समितिका संयोजक ईश्वरकुमार भट्टराईले भने ।

सिडिओ भन्छन्: घटना क्रोनिक छ

झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले नगरपालिकाको कार्यालयमा प्रहरी खटाएर सुरक्षा सतर्कता अपनाएको बताए । ‘हाम्रो प्रहरी टोलीले निरन्तर निगरानी गरिरहेको छ । यो घटनाको पृष्ठभूमि धेरै लामो छ । घटना क्रोनिक रहेको छ’, बाँस्तोलाले भने ।

उनले प्रशासन कार्यालयमा छलफल गर्दा घटनाका विषयमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कुरा फरक परेको बताए । ‘अहिले मेयर साबले आफूमाथि नै प्रमुख प्रशासकीय अधिकृतले अभद्र व्यवहार गरेको बताउनुहुन्छ, पहिले जनप्रतिनिधि र कर्मचारी पक्षको कुरा मिलाउनतर्फ हामीले काम गरिरहेका छौँ, त्यसपछि मात्रै अन्य कुरा गर्न सकिएला’, उनले भने ।

प्रमुख प्रशासकीय अधिकृतको व्यवहार नै अस्वभाविक : नगरप्रमुख

मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सोमबार प्रमुख प्रशासकीय अधिकृतको व्यवहार अस्वभाविक देखिएको टिप्पणी गरे ।

‘म फोन गर्दै कार्यकक्षमा प्रवेश गरेँ, उहाँ (ठेकेदार) पनि सँगै आउनुभयो त्यसलगत्तै प्रमुख प्रशासकीय अधिकृत आएर हप्कीदप्की गर्नुभयो । उहाँले प्रहरी बोलाएर थुन्नुपर्ने भन्दै कराइरहनुभयो । म माथि पनि दुव्र्यवहार भयो, त्यसपछि उहाँ सिडिओ कार्यालय जानुभयो’, बुढाथोकीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer