२०८१ जेठ ६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा एउटै टोलका छजनामा दादुरा संक्रमण, सक्रिय खोज सुरु


बिर्तामोड, माघ ३ । झापाको झापा गाउँपालिकाको एउटै टोलका छजनासहित झापामा सातजनामा दादुराको संक्रमण देखिएको छ ।

झापा ७ को सन्थाल बस्तीका छजनालाई दादुरा देखिएको हो । ७ वर्षदेखि ३७ वर्षसम्मका उमेर समूहका संक्रमितहरु चारजना महिला र दुईजना पुरुष रहेका छन् ।

सन्थाल बस्तीका सन्थाल समुदायका दुईजना, थापा थरका तीनजना र बराइली थरका एकजनामा दादुरा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यस्तै, बिर्तामोडका एकजनामा पनि दादुराको संक्रमण देखिएको छ । झापा गाउँपालिकामा छजनामा दादुरा आउटब्रेक भएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले बताए ।

यसअघि, सन् २०२३ मा झापामा छजनालाई दादुरा देखिएको थियो । तर, सन् २०२४ को दुई साताकै अवधिमा सातजनालाई संक्रमण देखिसकेको स्वास्थ्य प्रमुख बाराकोटीले बताए ।

झापा गाउँपालिकामा पहिलो संक्रमण पुस १३ गते देखापरेको थियो । शरणामती स्वास्थ्य चौकीमा आएका ती संक्रमितको रगत परीक्षणका गर्दा पुस २५ गते पोजिटिभ आएको थियो ।

त्यसपछि, झापा गाउँपालिकाको स्वास्थ्यकर्मीहरुको टोलीले पुस २६ गते सो टोलमा खटिएर नमुना संकलन गरेको थियो ।

त्यसबेला छजनाको रगत संकलन गरिएकोमा पाँचजनामा पोजिटिभ देखिएको झापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेमकुमार न्यौपानेले बताए । त्यसको रिपोर्ट शुक्रबार आएको हो ।

एउटै गाउँका ६ जनामा दादुरा देखिएपछि स्वास्थ्यकर्मीहरुले सक्रिय खोज सुरु गरेका छन् । मंगलवार विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, स्वास्थ्य कार्यालयको टोली, गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियासहितका जनप्रतिनिधि, विद्यालयका शिक्षकलगायतबीच संक्रमण रोकथामका विषयमा बृहत अन्तरक्रिया गरिएको छ ।

स्वास्थ्य शाखा प्रमुख न्यौपानेले अन्य संक्रमितको खोजीका लागि कन्ट्र्याक्ट ट्रेसिङ सुरु गरिएको बताए । उनले रेपिड रेस्पोन्स टिम परिचालन गरिने, घरधुरी सर्वेक्षण गरिने, सम्बन्धित व्यक्तिहरुलाई अभिमुखीकरण गरिने जानकारी दिए ।

संक्रमितहरुलाई भिटामिन ‘ए’ को उपचार गरिएको उनले बताए । अन्तरक्रिया कार्यक्रममा विश्व स्वास्थ्य संगठनकी संगीता शाह, स्वास्थ्य कार्यालय झापाका प्रमुख बाराकोटी, गाउँपालिकाका कार्यवाहक अध्यक्ष थपलिया स्वास्थ्य शाखा प्रमुख न्यौपानेलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer