२०८३ जेठ ५ मंगलबार
Jhapa Today
Adv top

आधा किलो सुन र अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ


बिर्तामोड, जेठ ५ । सीमा नाकामा कडाइ गरिरहेको बेला सशस्त्र प्रहरीले झापाको काँकरभिट्टाबाट सुन र अमेरिकी रकमसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

करिब डेढ करोडको सुन र २० हजार अमेरिकी डलरसहित भारत पश्चिम बंगाल कोलकात्ता बस्ने ३९ वर्षीय परम पाठक पक्राउ परेका हुन् । उनी हिजो साँझ ५ः१० बजे मेचीनगर–६ काँकरभिट्टास्थित भन्सार ढाटबाट पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकरभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोलीले भारतबाट नेपाल आउँदै गरेका पाठकलाई पक्राउ गरेको जनाएको छ ।

उनी तीनचक्के विद्युतीय सिटी सफारीमा नेपाल आउँदै थिए । उनलाई शंका लागेर जाँच गर्दा उनको साथबाट सुन, अमेरिकी डलर, भारतीय रुपैयाँलगायत बरामद भएको छ ।

उनको साथबाट १ करोड ४४ लाख ३० हजार ८१५ रुपैयाँ बराबरको ५७० ग्राम सुन, ३० लाख ६५ हजार बराबरको २० हजार अमेरिकी डलर, ८५ हजार ४१० भारतीय रुपैयाँ बरामद गरिएको छ ।

प्रहरीका अनुसार पाठकको साथमा रहेको सवारी चालक अनुमति, आधार कार्ड, मोबाइल, हार्ड डिस्क, सिम कार्ड, भिजा कार्ड र चेक बरामद भएको छ ।

उनलाई आवश्यक कारबाहीको लागि सामानसहित मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको जनाइएको छ । उनीमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

Adv footer