
बिर्तामोड, जेठ ५ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले झापामा समेत जेठमा समेत चिसो महसुस भइरहेको छ ।

हाल कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका तराई तथा बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ ।

बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा र हिमपात सम्भावना रहेको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको छ । आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया बादल लाग्नेछ ।

मधेस प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै मधेस, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।





