२०८१ बैशाख १९ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

राज्यको हेपाइमा परेको माछा किसानको गुनासो


बिर्तामोड, माघ २१ । माछा पालक किसानहरुले राज्यको निकायहरुबाट आफूहरु हेपिएको आरोप लगाएका छन् । उनीहरुले राज्यका निकायहरुले माछा पालक किसानका समस्या तथा गुनासा नसुन्ने गरेको बताएका छन् ।

झापाको बिर्तामोड–३ सैनिकमोडमा सम्पन्न माछा पालक किसानहरुको झापा जिल्लास्तरीय भेलामा सहभागी किसानले तीनै तहका सरकारले माछालाई कुनै प्राथमिकतामा नराखेको गुनासो गरे ।

‘माछा पालक किसानलाई स्थानीय, प्रदेश र संघ कहीँबाट कुनै सहयोग छैन् । न प्राविधिक छ न प्राविधिक ज्ञान नै दिन्छ’, नेपाल मत्स्य पालक किसान संघ कोशी प्रदेशका अध्यक्ष विष्णु आचार्यले भने ।

उनले माछा हेर्नेगरी सरकारले छुट्टै निकाय बनाउनुपर्ने माग राखे । फर्मालिन हालेर ल्याएका मरेका भारतीय तथा मागुर माछाको आयात तथा बिक्री वितरणमा पूर्ण रुपमा कडाई गर्नुपर्नेमा उनको जोड थियो ।

मानव स्वास्थ्यमा क्यान्सर जस्तो रोग फैलाउन सक्ने मागुर माछाको सेवनमा रोक लगाउने गरि सरकारले जनचेतना फैलाउनुपर्ने उनको भनाइ छ ।

अर्जुनधाराका किसान डेगनाथ खतिवडाले माछा विषयलाई हेर्नेगरी कम्तिमा प्रदेश सरकारले छुट्टै मन्त्रालय वा बोर्ड गठन गर्नुपर्नेमा जोड दिए ।

उनले किसानलाई माछाको विषयमा बढीभन्दा बढी तालिम तथा प्राविधिक ज्ञान हासिल हुने किसिमका पाठशाला निर्माण गर्नुपर्ने बताए ।

मन्जिल देवानले भारतबाट अवैध रुपमा आयात हुने गुणस्तरहीन माछाको भुराको आयातमा पनि रोक लगाउनुपर्ने धारणा राखे । गुणस्तरीय माछाका भुरा नपाउँदा किसानले आशातीत लाभ लिन नसकिरहेको उनको भनाइ छ ।

नेपाल मत्स्य पालक किसान संघका झापा अध्यक्ष होम सिटौलाले उत्पादित माछाको मूल्य प्रतिकेजी कम्तिमा २६० पाउने वातावरण बताउनुपर्नेमा जोड दिए । उनले अवैध रुपमा भित्रिने मरेका भारतीय माछाको आयात तथा बिक्री वितरणमा रोक लगाउने कार्यमा किसान सधैँ क्रियाशील हुनुपर्नेमा जोड दिए ।

किसान हरि मैनालीले अहिले माछा पालक किसानलाई गुणस्तरीय भुरा प्राप्त गर्ने ठुलो समस्या रहेको बताए । गुणस्तरीय भुरा प्राप्त गर्न नसक्दा किसानले बर्सेनि ठुलो आर्थिक क्षति बेहोर्नुपरेको धारणा राखे ।

छलफल कार्यक्रमको आयोजना मेची मत्स्य व्यावसायिक कृषक समूहका अध्यक्ष लक्ष्मी शिवाकोटीको अध्यक्षता तथा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख शितल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन मेची मत्स्य व्यावसायिक कृषक समूहका सचिव मोहनसिंह राजवंशीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer