२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड–अर्जुनधारा सडक खण्ड स्थानीयद्वारा बन्द


बिर्तामोड, माघ २३ । सडक निर्माणमा ढिलाइ भएको भन्दै स्थानीयले झापाको बिर्तामोड–शनिश्चरे सडक खण्ड बन्द गरेका छन् । स्थानीय युवाको एक समूहले सडकमा ढुंगा भरेर जाली राखेपछि सडक अवरुद्ध भएको हो ।

बिर्तामोड–शनिश्चरे सडकको निर्माण गर्ने जिम्मा पाएको ‘प्रविण मैनाचुली शान्ति’ जेभीले समयमा काम नसक्दा स्थानीय आक्रोशित भएका छन् । आगामी जेठ ९ गते हस्तान्तरण हुनुपर्ने गरी २०७९ जेठमा १५ करोड ८२ लाख १९९ रुपैयाँमा ठेक्का लागेको थियो । सो सडकको निर्माण कम्पनीले मागेको रकम राज्यले भुक्तानी नगरेपछि निर्माण कार्य अलपत्र परेको छ ।

खाल्डाखुल्डी परेर यो सडक जीर्ण भएको छ । त्यसमाथि पनि धुलो उडेर स्थानीयले सास्ती पाउँदै आएका छन् । सडकमा भएका खाल्डाका कारण कतिपटक सवारी साधन दुर्घटनामा परेका छन् । समयमा सडक निर्माण नभएपछि आक्रोशित स्थानीय युवाको समूहले ३ किलोमिटर खण्डमा चारवटा अवरोध राखेर अवरुद्ध गरेका हुन् ।

शनिश्चरे–बिर्तामोडको मुख्य सडक अवरोध खडा गरेका युवाहरुले वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको कप्तानबारी–पुष्पलालचोक–देवीबस्ती सडकसमेत अवरुद्ध पारेका छन् । त्यस सडकमा मोटरसाइकल मात्र छिर्नसक्ने बनाएर अवरुद्ध गरिएको बताइएको छ ।

सो सडकको हालको प्रगति १४ प्रतिशत मात्र पुगेको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिए । उनले काम सम्पन्न भएको बील निर्माण कम्पनीले अर्थ मन्त्रालयमा पेश गरे पनि भुक्तानी नपाएपछि निर्माणको कामलाई निरन्तरता नदिएको बताए ।

देशका अधिकांश निर्माण कम्पनी अहिले मन्त्रालयबाट रकम निकासा नहुँदा निर्माणको कार्यलाई निरन्तरता दिनसक्ने अवस्थामा छैनन् । उनीहरुले भुक्तानीका लागि पेश गरेको बील पनि मन्त्रालयमा थन्किएका कारण यस्तो अवस्था आएको निर्माण व्यवसायीको दाबी छ ।

निर्माण कम्पनीका सञ्चालक फणिन्द्र तिम्सिनाले सडक डिभिजन कार्यालयमा पेश गरेको बील बमोजिमको रकम निकासा नभएका कारण निर्माण कार्य जारी राख्न नसकिएको बताए । उनले अहिले पनि रकम निकासा हुने हो भने तोकिएको समयमा सडक निर्माण कार्य सम्पन्न गर्न सकिने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer