२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

भुरा अभावमा झापाका माछा कृषक समस्यामा


बिर्तामोड, माघ २५ । भुरा अभाव भएपछि झापाका माछापालक कृषकले समस्या भोग्नु परेको छ । अहिले भुरा हाल्ने मौसम भए पनि भुरा पाइएको छैन ।

माछा कृषकप्रति तीनै तहका सरकार जिम्मेवार तथा जवाफदेही नहुँदा कृषकले भुराको अभाव झेल्नु परेको हो । झापामा पाँच सयभन्दा बढी व्यावसायिक माछापालन कृषकले पोखरीमा माछा हाल्न पाएका छैनन् ।

यो वर्ष भाउ राम्रो पाएर हौसिएका कृषक गुणस्तरीय भुरा नपाउँदा भने निराश बनेको माछा कृषक हरि मैनालीले जानकारी दिए । योपालि पोखरीमै २६० रुपैयाँ प्रतिकिलोका दरले माछा बिक्री भइरहेको छ ।

तर, सिजनको सुरुमै भुरा हाल्न पाउँदा उत्पादन चाँडै लिन पाइने भए पनि गुणस्तरीय भुरा नपाएर कृषक हैरान छन् । भुराको अभाव झेलिरहेका कृषकले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको ध्यानाकर्षण गराएका छन् ।

विज्ञ केन्द्रका प्राविधिक तथा प्रमुखमार्फत जिल्लामा माछाको गुणस्तरीय भुरा उत्पादन गर्ने ‘ह्याचरी’ निर्माण गर्न उनीहरूले आग्रहसमेत गरेका छन् ।

जिल्लामा सरकारीस्तरमा ह्याचरी नहुँदा प्रायः किसान अवैध रूपमा भारतबाट ल्याइएका गुणस्तरहीन माछाका भुरा खरिद गर्न बाध्य छन् । बिचौलियासँग भुरा खरिद गर्नुपर्दा बर्सेनि ठुलो संख्यामा किसान घाटामा पर्ने गरेको उनीहरूको भनाइ छ ।

प्रत्येक सिजनमा माछाको भुरा अभाव हुने गरे पनि उचित निकास निकाल्न नसकिरहेको विज्ञ केन्द्र झापाका प्रमुख शीतल भट्टराईले बताइन् ।

अवैध रूपमा भारतबाट ल्याइएका भुराभन्दा नेपाली कृषकले नै उत्पादन गर्ने भुरामा विश्वास बढाउन उनको आग्रह छ ।
झापाको शिवसताक्षी नगरपालिकास्थित चन्द्रडाँगी बीउबिजन फार्ममा ह्याचरी निर्माणको प्रक्रिया अघि बढेको उनले जनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer