२०८१ जेठ ३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा बढ्यो व्यवसायीको चुनावी सरगर्मी, ५६०० मतदाता


बिर्तामोड, माघ २९ । अघिल्लो निर्वाचनमा भन्दा झन्डै एक हजार संख्यामा सदस्य (मतदाता) भएपछि बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचन रोमाञ्चक बन्ने भएको छ ।

यसअघिका निर्वाचनमा भन्दा योपालि तीव्र प्रतिस्पर्धा हुने पनि देखिएको छ । संघका कार्यालय स्रोतका अनुसार फागुन १४ गते हुने निर्वाचनमा पाँच हजार छ सयको हाराहारीमा मतदाता रहनेछन् ।

यही माघ २३ गतेभित्र बिर्तामोड नगरका उद्योगी व्यवसायीले नवीकरण गरिसकेका छन् । अहिले सदस्यको अन्तिम नामवाली टुंगो लगाउने काम भइरहेको छ ।

एउटै फर्मको तीनजनासम्म उम्मेदवारले अलगअलग नवीकरण गरिदिएपछि सदस्य संख्या छाँट्ने काम भइरहेको छ ।
संघमा यसअघिको निर्वाचनमा चार हजार ५३९ मतदाता रहेका थिए । यसबाहेक ११ जना पूर्वअध्यक्ष मतदाता थिए ।

अघिल्लो निर्वाचनमा ८४ दशमलव ९९ प्रतिशत मतदाताले मतदान गरेका थिए । अर्थात ३ हजार ८५८ मत खसेको थियो ।

अध्यक्षमा अर्जुन र राजुको उम्मेदवारी

स्वतन्त्र व्यावसायिक प्यानलको नेतृत्व युवा व्यवसायी अर्जुन मैनालीले गर्ने भएका छन् । हाल उनी संघको महासचिव छन् ।
यो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजु घिमिरेको उम्मेदवारी रहनेछ । त्यस्तै, वाणिज्य र उद्योग उपाध्यक्षको टुंगो छैन ।

जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई र महासचिवमा कृष्ण पौडेलको टुंगो लागेको छ । वाणिज्य र उद्योग सचिव, कोषाध्यक्ष तथा सदस्यका उम्मेदवार केही दिनमै टुंगो लगाउने बताइएको छ ।

त्यस्तै, लोकतान्त्रिक व्यवसायी समूहले पनि उम्मेदवारको अन्तिम सूची तयार पार्दै छ । भोलि औपचारिक कार्यक्रम गरेर राजु न्यौपानेको नेतृत्वमा टिमको घोषणा हुँदैछ । हाल उनी संघमा वरिष्ठ उपाध्यक्ष छन् ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा सञ्जीव घिमिरे, वाणिज्य उपाध्यक्ष र उद्योग उपाध्यक्षमा जीवनकुमार खड्का र विशाल थापाको चर्चा छ । महासचिवमा कुशल खतिवडाले दाबी गरेका छन् ।

यस्तो थियो यसअघिको मतपरिणाम

हालका अध्यक्ष प्रकाश शिवाकोटीले २ हजार १३९ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी सुवास भट्टराईले एक हजार ६१५ मत पाएका थिए ।

वरिष्ठ उपाध्यक्षमा राजु न्यौपानेले २ हजार ११६ मत र नारायण चिमरियाले एक हजार ५९२ मत प्राप्त गरेका थिए ।

उद्योग उपाध्यक्षमा सञ्जीव घिमिरेले एक हजार ९४० र प्रकाश घिमिरेले एक हजार ७१८ मत ल्याएका थिए । वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे (राजु) ले २ हजार २७८ र संयुक्तका राधाकृष्ण अधिकारीले एक हजार ३२३ मत पाएका थिए ।

महासचिवमा अर्जुनकुमार मैनालीले रविन्द्र भट्टराईललाई २६ मतले पराजित गरेका थिए । मैनालीले एक हजार ८४३ मत प्राप्त गरेका थिए ।

उद्योग सचिवमा कुशल खतिवडाले २ हजार ५५० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी धनबहादुर डाँगीले एक हजार ६३ मत पाएका थिए । वाणिज्य सचिवमा कृष्ण पौडेलले एक हजार ९६६ र राजकुमार शाहको एक हजार ६७४ मत रहेको थियो ।

कोषाध्यक्षमा दिपेन्द्र राउतले २ हजार १२२ मत पाउँदा दुर्गा थपलियाले एक हजार ५२४ मत प्राप्त गरेका थिए । सहकोषाध्यक्षमा राधिका चुडालले एक हजार ९७० मत र रञ्जु प्याकुरेलले एक हजार ६२४ मत पाएका थिए ।

महिला सदस्यमा तुलसा ढकाल (२१९५) र रुचि शिवाकोटी (२०७६) विजयी भएका थिए । खुला सदस्यमा विशाल थापा २०९९, गुञ्जन प्रसाईं २००८, पुकार बराल २०००, जीवनकुमार खड्का १९१८, दिपक मित्तल १८९९, बलराम सिटौला (राम) १८६१ र गौरीशंकर गुप्ता (टिंकु) १७९० विजयी भए ।

जनसम्पर्क उपाध्यक्षमा नैनकला भट्टराई निर्विरोध निर्वाचित भएकी थिइन् । उनकी प्रतिस्पर्धी उम्मेदवार उर्मिला बिमली खरेलको उम्मेदवारीमा रीत नपुगेपछि निर्वाचन समितिले खारेज गरेको थियो ।

त्यस्तै, महिला सदस्य तिलोत्तमा खत्री तथा खुला सदस्य विकास बस्नेत र उमेश शाहको उम्मेदवारी पनि खारेज भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer