२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

वाल्मीकिमा ‘स्टेम फेस्ट’, विद्यार्थीले प्लास्टिकबाट बनाए पेट्रोल


बिर्तामोड, फागुन १० । बिर्तामोडस्थित वाल्मीकि एजुकेसन फाउन्डेसनमा अध्ययनरत विद्यार्थीले प्लास्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने भन्दै सन्देश दिएका छन् ।

थोत्रा प्लास्टिकबाट पेट्रोल उत्पादन गर्न सकिने विद्यार्थीले उदाहरण प्रस्तुत गर्दै विद्यालय परिसरमा आयोजित कार्यक्रमकाबीच प्लाष्टिकबाट पेट्रोल उत्पादन गरेर देखाउँदा सहभागी अभिभावक चकित बने ।

कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले पाइरोलाइसिस प्लास्टिक प्लान्ट प्रविधिमार्फत खेर गएको प्लास्टिकलाई प्रयोग गरेर पेट्रोल बनाउन सकिने सन्देश दिएका थिए । वाल्मीकि एजुकेसन फाउन्डेसनमा बुधबार ‘स्टेम फेस्ट’ (साइन्स, टेक्नोलोजी, इञ्जिनियरिङ, आर्ट, म्याथ फेस्टिवल) कार्यक्रमको आयोजना गरिएको थियो ।

सोही कार्यक्रममा सहभागी विद्यार्थीमध्ये केही विद्यार्थीले प्लास्टिकबाट पेट्रोल बनााएर देखाएका हुन् । त्यस्तै, अन्य विद्यार्थीले समेत आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

विद्यालय परिसरमा आयोजना गरिएको ‘स्टेम फेस्ट’को उद्घाटन बिर्तामोड नगरपालिकी प्रमुख पवित्रादेवी महतरा प्रसाईंले गरेकी थिइन् । यसअघि विद्यालयको गेटमा रहेको रिबन मोबाइल एप्सद्वारा कन्ट्रोल गर्दै रोवटले काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

प्रदर्शनीमा विद्यार्थीसहित पाँच हजार अभिभावकले अवलोकन गरेको विद्यालयका प्रिन्सिपल विष्णु सिंघलले बतााए । विद्यालयका विद्यार्थीलाई प्रयोगात्मक शिक्षा तथा मनोरञ्जन गर्दै सिक्न सकिने भन्दै विद्यालयले बृहत् रुपमा विज्ञान प्रविधि, गणित, कम्प्युटर, कला, गणित, खानेका परिकार, नाचगान, हस्तकलाका सामग्री प्रर्दशनी गरेको थियो ।

उनका अनुसार विद्यालयको प्राङ्गणमा आयोजित प्रदर्शनीमा १८० वटा स्टलमा भौतिक, रसायन, जीव, कम्प्युटर विज्ञान र रोबोटिक्सका सामग्रीहरु प्रदर्शनीमा राखिएको हो । ती सामग्रीहरु विद्यार्थीले निर्माण गरेका विद्यालयले जनाएको छ ।

होटल मेनेजमेन्टमा अध्ययनरत विद्यार्थीहरुले बनाएका विभिन्न खाद्य परिकारहरुको आठवटा स्टल रहेको प्रिन्सिपल सिंघलले बताए । प्रदर्शनीस्थलमा रहेको प्लानेटोरियममा अभिभावकहरुको आकर्षण देखिन्थ्यो ।

विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञान दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको सिंघलको भनाइ छ । प्रदर्शनीमा विज्ञान प्रविधितर्फ फिजिक्स, क्यामेस्ट्री, बायोलोजी, ब्लड ग्रुप छुट्याउने, मधुमेह जाँच समेत गरिएको थियो ।

त्यस्तै, विद्यार्थीले गणितका विभिन्न प्रकारका ज्यामिती र विभिन्न सूत्रहरुसँग सम्बन्धित सामग्री प्रदर्शनमा राखेका थिए । गणितसँग सम्बन्धित विभिन्न प्रकारका खेलकुदका सामग्री प्रदर्शनमा राखिएको थियो ।

यसैगरी, डिभिजन मेसिन, पाइथागोरस थेउरी, क्यासिनो गेम, प्रोभावलिटी गेम, विजगणितीय सूत्रसँग सम्बन्धित, वर्ग तथा वर्गमूल यत्र, ग्राफ, म्याथमेटिकल सिटी समेत तयाार पारिएको थियो । विद्यार्थीले कम्प्युटर हार्डवेयर, सफ्टवेयरका विषयमा ज्ञान प्रदान गरिने सामग्री प्रदर्शनीमा राखिएको थियो ।

विद्यार्थीले फेस मुड डिटेक्सन, वाल्मीकि एआइ वुट सर्च इन्जिन, जारविस एआइ बुट, मोबाइल ट्र्याकर, वार्किङ मोडल अफ इमेल, स्टार एन्ड रिङ टोपोलोजी मोडल, गेस द नम्बर एन्ड क्याल्कुलेटर एप प्रदर्शनीमा राखेका थिए ।

त्यस्तै, कलासँग सम्बन्धी विद्यार्थीले पेन्सिल आर्ट, पेन आर्ट, लाइभ पेन्टिङ, फेस पेन्टिङ समेत गरेर अभिभावक र सहभागीलाई विद्यार्थीले देखाएका थिए । टेक्नोलोजीतर्फ १६ वटा रोवटिक्ससँग सम्बन्धित आइतट प्रदर्शनमा राखिएको थियो ।

उनीहरुले ब्लुटुथ कन्ट्रोल रोवर्ट, स्मार्ट होम अटोमेसन, ड्रोन, एलइडी नोटिफिकेसन सिस्टम, टेलिस्कोप, डिसी जेनेरेट, स्मार्ट ब्लाइन्ट स्टिक, अल्कोहल डिटेक्सन सिस्टम लगायतका सामग्री प्रदर्शनमा राखेका थिए ।

वाल्मीकिमा अध्ययनरत विद्यार्थीले खानाका परिकार बनाएर अभिभावकलाई प्रदान गरेका थिए । ब्याचलर अफ होटल मेनेजम्यान्टका विद्यार्थीले प्रयोगात्मक शिक्षाअन्तर्गत १६ परिकारका खाना बनाएर अभिभावक तथा विद्यार्थीलाई वितरण गरेको र उनीहरुले आफ्नो कला प्रस्तुत गरेको विद्यालयका शिक्षक भावुक कार्कीले बताए ।

विद्यालयमा आयोजित कार्यक्रममा दुई सयभन्दा धेरै विद्यार्थीले एकैपटक एउटै स्टेजमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्याब्सन बिर्तामोडका अध्यक्ष उत्तम खनाल, न्युटन्स एजुकेसनका प्रिन्सिपल देवेन्द्र हुमागाईं लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन जीवन आचार्य र आशिष कार्कीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer