२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

फाइनलअघि झापा गोल्ड कपको गेटमनी २१ लाख ४६ हजार


बिर्तामोड, फागुन २७ । झापा गोल्ड कपको छैटौँ संस्करणको सेमी समीकरण पूरा भइसक्दा अहिलेसम्म टिकट बिक्रीबाट २१ लाख ४६ हजार ९ सय रुपैयाँ संकलन भएको छ ।

प्रिक्वार्टर, क्वार्टर फाइनल खेलमा २ सय र सेमिफाइनलमा ३ सय टिकट दर तोकिएको थियो । सबैभन्दा बढी झापा ११ र चर्च ब्वाइज युनाइटेडबीचको अन्तिम सेमिफाइनल खेलमा ६ लाख ५० हजार ३ सय रुपैयाँ संकलन भएको झापा गोल्डकपको सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै, उद्घाटन खेलमा संकटा क्लब र एपिएफ एफसीले प्रतिस्पर्धा गरेका थिए । उक्त खेलमा २ लाख ८५ हजार रुपैयाँ टिकट बिक्रीबाट संकलन भएको थियो । जसमा एपिएफ विजयी भयो ।

दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लबलाई पराजित गर्दा टिकट बिक्रीबाट १ लाख १० हजार ९ सय रुपैयाँ संकलन भएको थियो । अहिले चर्च ब्वाइज र एपिएफ गोल्ड कपको फाइनलमा प्रवेश गरेका छन् ।

तेस्रो खेलमा एपिएफले सर्लाहीको बागमती युवा क्लबलाई पराजित गर्यो । यस खेलमा १ लाख ५ हजार रुपैयाँको टिकट बिक्री भएको थियो ।

त्यस्तै, चौथो खेलमा न्यु रोड टिम (एनआरटी) लाई चर्च ब्वाइजले पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको थियो । यस खेलमा ९५ हजार ५ सय रुपैयाँ संकलन भएको थियो ।

पाँचौँ खेलमा त्रिभुवन आर्मी एफसीले मछिन्द्र एफसीलाई पराजित गर्दा ३ लाख रुपैयाँबराबरको टिकट बिक्री भएको थियो ।

छैटौँ खेलमा एन्फा मकवानपुरलाई झापा ११ एफसीले पराजित गरेको थियो । उक्त खेलमा २ लाख ५० हजार २ सय रुपैयाँ संकलन भएको सचिवालयले जनाएको छ ।

पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी र एपिएफबीच प्रतिस्पर्धा भएको थियो । जसमा एपिएफले बाजी मार्दै फाइनलमा प्रवेश गरेको छ ।

यसै दिन नारी दिवस भएकाले आयोजकले फुटबल खेल हेर्न आउने महिलाहरुलाई निःशुल्क प्रवेश गराएको थियो ।

आर्मी पाँचौँपटक उपाधि होडमा थियो तर एपिएफले बाजी मार्दा सेमिफाइनलबाटै बाहिरियो । यस खेलमा ३ लाख ५० हजार रुपैयाँ टिकट बिक्रीबाट संकलन भएको थियो ।

अब भोलि सोमबार एपिएफ र चर्च ब्वाइजबीच फाइनल खेल हुँदैछ । पाँचौँ संस्करणको फाइनल खेलमा २२ लाख ६४ हजार ९८० रुपैयाँ रकम टिकट बिक्रीबाट संकलन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer