२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका सिडिओको पहलमा ४ करोडको जग्गा निगमको नाममा कायम


बिर्तामोड, चैत २ । पेट्रोलियम भण्डारणका लागि झापाको मेचीनगर १३ चारआलीमा खरिद गरिएको २३ बिघा तीन कठ्ठा जग्गा नेपाल आयल निगमको नाममा कायम भएको छ ।

झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको पहलमा करिब तीन बिघा तीन कठ्ठा जग्गा फिर्ता ल्याई निगमको नाममा कायम गरिएको हो ।

नेपाल आयल निगमले कोशी प्रदेशमा पेट्रोलियम भण्डारणका लागि उक्त जग्गा २०७४ सालमा खरिद गरेको थियो । निगमले २३ बिघा ३ कठ्ठा जग्गा खरिद गरेको भए पनि फिल्डमा नाप्दा २० बिघाको हाराहारीमा जग्गा थियो ।

खरिद गरेको भन्दा करिब ३ बिघा जग्गा फिल्डमा कम भए पनि निगमले २३ बिघा ३ कठ्ठाकै भुक्तानी गरेको थियो । निगमले जग्गा नापजाँचबिनै खरिद गरेको थियो ।

मङ्गलबार र बुधबार उक्त जग्गा नापजाँच गरी जग्गामा कम्पाउन्ड वाल उठाएर तारबार गरिएको छ । प्रशासनले बल प्रयोग गरेर जग्गा नापजाँच गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

जग्गा नाप्ने क्रममा स्थानीयले अवरोध गरेपछि करिब ७० जना सुरक्षाकर्मी खटाइएको थियो । यसअघि पनि जग्गा नाप्न खोज्दा स्थानीयहरूले विरोध गरेका थिए ।

जग्गा बेच्नेहरूले जग्गा नाप्न नदिएका हुन् । जग्गा बेच्नेहरूबाट नै जग्गा लिएर निगमको नाममा कायम गरिएको हो ।

फिल्डमा जग्गा नापजाँच नगरी जग्गा खरिद गरेर आयल निगमले गरेको कमजोरी प्रशासनको पहलमा सुधार भएको छ । करिब ४ करोड रुपैयाँ बराबरको ३ कठ्ठा ३ बिघा जग्गा निगमको नाममा फिर्ता भएको हो ।

संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमको जग्गा खरिद सम्बन्धी अध्ययन गरेको थियो ।

समितिको उपसमितिले २०७४ सालमा जग्गा खरिदसम्बन्धी अध्ययन प्रतिवेदन तयार गरेको थियो । जसमा निगमले झापामा खरिद गरेको जग्गासँग सम्बन्धित विवरण पनि समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer