२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

चालु वर्षा शुक्रबारसम्म रहने, शनिबारदेखि पश्चिमबाट अर्को वर्षा भित्रिने


बिर्तामोड, चैत ८ । लामो समयदेखिको सुक्खाका कारण आगलागी र डढेलाका घटना बढिरहेका बेला बुधबार झापासहित कोशी प्रदेशमा वर्षा हुँदा राहत मिलेको छ ।

वर्षा बिहीबार र शुक्रबार पनि हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए । ‘बुधबारभन्दा कम वर्षा हुन्छ । छरिएर वर्षा हुने देखिन्छ,’ मौसमविद् अधिकारीले भने ।

कोशीका तराई भेगमा हावाहुरीको सम्भावना पनि छ । बुधबार पूर्वी र मध्य नेपालमा झरी नै परेको थियो ।

मौसमविद् अधिकारीका अनुसार अहिले पश्चिमी न्यूनचापीय प्रणाली र भारतको बिहारआसपास रहेको न्यूनचापीय प्रणालीको असरका कारण पानी परिरहेको हो ।

पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्व बहन्छ, जुन खासै सक्रिय छैन । तर, बिहारआसपासमा रहेको न्यूनचापीय प्रणालीको असरका कारण बादल पूर्वबाट पश्चिम बहँदै गएको छ ।

‘माथिल्लो वायुमण्डलको न्यून चापका कारणले नै तल्लो वायुमण्डलमा प्रभाव परेको हो,’ अधिकारीले भने, ‘बिहारबाट नजिक पर्ने भएकाले बंगालको खाडीबाट जलवाष्पयुक्त हावा खिचेर ल्याएको छ, बदली र वर्षा पनि पूर्वी नेपालमा धेरै भएको हो ।’

अहिलेको प्रणाली शुक्रबारबाट कमजोर हुने आँकलन गरिएको छ । तर, शनिबारबाट पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुने सम्भावना छ, यसले पश्चिम क्षेत्रबाट वर्षा गराउन सक्छ । तर, यसबारे मौसम पूर्वानुमान महाशाखाले आधिकारिक घोषणा गरिसकेकोे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer