२०८१ बैशाख १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापाको दुधेमा २५ हजार दर्शक क्षमताको रंगशाला धमाधम बन्दै


बिर्तामोड, चैत १३ । झापाको शिवसताक्षीमा २५ हजार दर्शक क्षमताको रंगशाला निर्माणको काम अघि बढेको छ । जनसहभागिता र सरकारको संयुक्त पहलमा रंगशाला निर्माणको काम अघि बढाइएको हो ।

अहिले रंगशालामा मञ्च र चेन्जिङ रुमको निर्माण भइरहेको छ । चार वर्षभित्रमा रंगशाला पूर्णरुपमा तयार पार्ने लक्ष्य निर्माणपक्षको छ ।

झापामा व्यवस्थित रंगशाला नहुँदा ठुलो रकम खर्च गरेर प्रतियोगिता गर्नुपर्ने बाध्यता छ । स्थानीय तहले सीमित बजेट विनियोजन गर्दा प्रतियोगिता त हुन्छ, तर भौतिक पूर्वाधारमा भने हालसम्म प्रभावकारी लगानी हुन सकेको छैन ।

पछिल्लो समय शिवसताक्षी नगरपालिकाले खेलकुदप्रेमीको भावनाअनुसार स्थानीय र केन्द्रीय बजेटसमेतको माग गरी रंगशाला निर्माणको काम अघि बढाएको छ । नगरपालिका र जनसहभागितामा रंगशाला निर्माणको काम धमाधम भइरहेको हो । स्थानीयले रंगशाला निर्माणमा साथ दिँदा बहुवर्षे योजना अगाडि बढ्न सम्भव भएको हो ।

शिवसताक्षीको दुधे बजार उत्तरपट्टि निर्माण भइरहेको रंगशाला चार वर्षमा निर्माण सम्पन्न हुने नगरप्रमुख मेघाहाङ थोप्राले जानकारी दिए । ‘हामीले मञ्च र चेन्जिङ रुम निर्माणका लागि १ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेका थियौँ, थोप्राले भने, ‘६९ लाख ६१ हजार ९२१ रुपैयाँमा ठेक्का लागेर यसै आर्थिक वर्षमा ती संरचना निर्माण सम्पन्न हुन्छ ।’ उनले नगरपालिकाले बहुवर्षे योजनामा समावेश गरेर रंगशाला निर्माण सम्पन्न गर्ने जानकारी दिए ।

‘सडक निर्माण गर्याे भने दुईचार वर्षमा भत्किन्छ, पुल, पुलेसाको पनि अवस्था उही हो, नगरप्रमुख थोप्राले भने, ‘मेरै कार्यकालमा दीर्घकालीन महत्व राख्ने भौतिक संरचना निर्माण गर्ने उद्देश्यबमोजिम यता लगानी गर्ने निर्णय गरेका हौँ ।’
थोप्राले भने, ‘झापामा फुटबलको जुन क्रेज छ, त्यसमा केही गरौँ भनेर हामीले ठुलो लगानी यहाँ गरेका हौँ ।’

रंगशालामा पक्की कम्पाउन्ड गरिएको छ । अहिले रंगशालाको जमिन सम्याउने काम सकिएको छ । आठ बिघा क्षेत्रफलमा निर्माणाधीन रंगशाला अहिलेसम्म मुलुककै ठुलो र सुविधासम्पन्न हुने निर्माणकर्ताको भनाइ छ ।
निर्माण समितिका अध्यक्ष सन्तोष थोप्राले रंगशालामा उपयुक्त हुने माटो बिछ्याउने काम भइरहेको बताए ।

‘मञ्च र चेन्जिङ रुम असारसम्ममा निर्माण भइसक्छ’, अध्यक्ष थोप्राले भने, ‘त्यो बेलासम्म ग्राउन्डलाई पनि पूर्णरुपमा तयार गर्छौं ।’ थोप्राले बिर्तामोडमा रहेको डोमालाल राजवंशी रंगशालामा भएकोजस्तै झार रोप्नका लागि खरिद गरिसकेको बताए ।

झापाका दर्शकमा देखिएको फुटबल खेलको क्रेजलाई विश्वव्यापी रुपमा परिचित गराउन सुविधासम्पन्न भौतिक संरचना निर्माण गर्नुपर्ने आवश्यकताबमोजिम रंगशाला निर्माणको काम सुरु गरिएको हो । रंगशालाको अभावमा झापामा अस्थायी प्यारापिट निर्माण गरेर फुटबलको विभिन्न प्रतियोगिता आयोजना हुँदै आएका छन् ।

अध्यक्ष थोप्राका अनुसार रंगशालाको प्यारापिट निर्माण गर्न जनसहभागिता जुटाइनेछ । ‘समाजमा आफ्ना दिवंगत अग्रजको नाममा विभिन्न पाटीपौवा निर्माण गर्ने क्रम छ, तर त्यो स्थायी हुँदैन, उनीहरुको नाममा रंगशालामा योगदान गर्न लगाइयो भने वर्षाैंसम्म सम्झिन सकिन्छ ।’ थोप्राले जनसहभागिताअनुसार निर्माण हुने प्यारापिटमा उनीहरुको सम्झनामा नाम लेखिने समेत बताए ।

रतुवामाई वृक्षारोपण आयोजनाले चर्चेको जमिनमा रंगशाला निर्माण हुन लागेको हो । दमकदेखि माईधारसम्मको सो क्षेत्रमा दर्जनौँ खेलमैदान भए पनि व्यवस्थित नहुँदा ठुला प्रतियोगिता आयोजना गर्न कठिनाइ हुँदै आएको छ ।

पाडाजुँगीमा आदिवासी रंगशाला निर्माण हुने चर्चा चले पनि राजनीतिक विवादका कारण निर्माणमा ढिलाइ भएको छ । दुधे रंगशाला निर्माण सम्पन्न भएपछि फुटबल लगायत खेलकुदका गतिविधिमा फड्को मार्न सकिने नगरको अपेक्षा छ ।

भद्रपुरमा रहेको मेची रंगशाला पनि हालसम्म अधुरो छ । रंगशाला निर्माणले पूर्णता नपाउँदा गत वर्ष सम्पन्न भएको भद्रपुर झापा गोल्डकप हेर्नका लागि अस्थायी प्यारापिट निर्माण गर्नुपरेको थियो । सताक्षीधामको यो रंगशाला बनेपछि जिल्लाको पहिलो व्यवस्थित रंगशालाका रुपमा सूचीकृत हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer