२०८१ बैशाख २१ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

चालु आठ महिनामा काँकरभिट्टाबाट मात्रै ११ अर्ब व्यापार घाटा


बिर्तामोड, चैत १९ । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो आठ महिनामा नेपालले पूर्वीनाका काँकरभिट्टा भएर भारतसँग हुने व्यापारमा ११ अर्ब रुपैयाँभन्दा बढीको घाटा व्यहोरेको छ ।

सीमानाकामा रहेको भन्सार विन्दु मेची भन्सार कार्यालय काँकरभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि फागुन अन्त्यसम्म यो नाका भएर हुने व्यापारका क्रममा नेपालले ११ अर्ब ५२ करोड ५ लाख ९१ हजार रुपैयाँ घाटा व्यहोरेको हो ।

यो अवधिमा नेपालले १६ अर्ब ६८ करोड ५७ लाख ८४ हजार रुपैयाँबराबरको मालवस्तु निर्यात गर्दा २८ अर्ब २० करोड ६३ लाख ७५ हजार रुपैयाँबराबरको मालवस्तु आयात गरेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए ।

निर्यातको तुलनामा आयात हेर्दा ४० दशमलव ८४ प्रतिशत व्यापार घाटा नेपालले सहनु परेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० को यही अवधिमा नेपालले ५३ दशमलव ५६ प्रतिशत व्यापार घाटा व्योहोरेको थियो ।

त्यो अवधिमा ३१ अर्ब २६ करोड ५१ लाख १३ हजार रुपैयाँका सामान नेपालले आयात गरेको मा १४ अर्ब ५१ करोड ८५ लाख ५७ हजार रुपैयाँबराबरका मात्र मालवस्तु भारत पठाउन सकेको थियो ।

जहाँ १६ अर्ब ७४ करोड ६५ लाख ५६ हजार रुपैयाँबराबरको घाटा हो । गत आर्थिक वर्षको आठ महिनाको तुलनामा चालु आर्थिक वषको आठ महिनामा ९ दशमलव ७८ प्रतिशत अर्थात ३ अर्ब ५८ करोड ७३ लाख ८ हजार रुपैयाँ व्यापार घाटा भएको सरकारी अभिलेख छ ।

निर्यात भने १४ दशमलव ९३ प्रतिशले वृद्धि भएर १६ अर्ब ६८ करोड ५७ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

भन्सार विभागका अनुसार केही वर्षअघिसम्म ३१७ प्रकारका कृषिवस्तु भारत निर्यात हुने गरेकोमा हिजोआज २ सयभन्दा कम मालवस्तु निर्यात हुने गरेको छ ।

काँकरभिट्टा नाका हुँदै पेट्रोलियम पदार्थ, तयारी पोशाक, सुपारी, सिमेन्ट क्लिङ्गकर, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, ग्लेज टाइल, लुब्रिकेटिङ, आयल मोबिल, मोटरका ब्याट्री, प्लास्टिकका प्याक गर्ने ट्युबहरुलगायतका विभिन्न सामग्री भारत तथा तेस्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् ।

मुसुरो दाल, भेनियर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडिबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुँगुर, बेतताड, प्लाउड, क्राफ्ट पेपरलगायतका वस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकासी हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer