२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

सीमाबासीको गुनासो सुन्दै सशस्त्र प्रहरी गौरीगञ्जमा


बिर्तामोड, चैत २० । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्नका लागि गौरीगञ्जका सीमाबासीसँग अन्तरक्रिया गरेको छ ।

‘सीमाबासीसँग सशस्त्र प्रहरी’ नामक अभियानअन्तर्गत सीमा क्षेत्रका बासिन्दाको समस्या र गुनासा सुन्न सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौड्यालगायतका सुरक्षा अधिकारीहरु उपस्थित भएका थिए ।

गौरीगञ्ज ६ स्थित खजुरगाछी माविको प्राङ्गणमा सीमाका बासिन्दासँग आयोजित प्रत्यक्ष अन्तरक्रियामा राजश्व चुहावट तथा सीमा अपराधका समस्या उठान भएको थियो ।

कार्यक्रमका अधिकांश सहभागीहरुले झापा गाउँपालिकास्थित छोटी भन्सार, कुञ्जिबारी छोटी भन्सार र आठमौजा छोटी भन्सारको अवस्था र लागुऔषधको ओसारपसारका बारेमा दर्शाएका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालयका बाहिनीपति अञ्जनीकुमार पोखरेलले जिल्लामा शान्ति सुरक्षा, सीमा अतिक्रमण, सीमा अपराध नियन्त्रण, सीमा इलाका र सीमास्तम्भहरुको रेखदेख तथा राजश्व संकलन, चोरी, अवैध निकासी पैठारीमा नियन्त्रण गरी राजश्व अभिवृद्धि र विभिन्न आपराधिक गतिविधि नियन्त्रण लागिपरेको जानकारी गराए ।

झापामा सीमा इलाकामा चारवटा प्रस्तावित सीमा सुरक्षा गुल्म र १७ वटा बोर्डर आउट पोस्टहरु तैनाथ रहेको र अन्य विभिन्न स्थानहरुमा १५ वटा पोस्टपहरु स्थापनाको लागि प्रस्ताव गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिए ।

झापामा बाहुनडाँगीदेखि गौरीगञ्जसम्म १४४.०२ किलोमिटर लामो सीमा क्षेत्र रहेको छ । हरेक किलोमिटर सीमाक्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा पोस्ट राखेर निगरानी गरिरहेको छ ।

कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, उपाध्यक्ष पुजन न्यौपाने कुँवर, गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाल बास्तोला, प्रहरी उपरीक्षक मिलन केसी, सशस्त्र सीमा सुरक्षा बल गौरीगञ्जका डिएसपी राज बस्नेतलगायत झापा गाउँपालिकाका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाका जनप्रतिनिधि र सीमाबासी सहभागी थिए ।

रानी ऋषिदेवलाई एपिएफ स्कुलमा पढाइने

यसैबीच, गौरीगञ्ज ४ मा बस्ने मुसहर समुदायकी रानी ऋषिदेवलाई एपिएफ स्कुलमा कक्षा १० सम्म निःशुल्क अध्ययन गर्न छात्रावृत्ति उपलब्ध गराइने कार्यक्रमको अवसरमा जानकारी दिइयो ।

अतिविपन्न परिवारकी बुबाआमासमेत गुमाएकी गौरिया प्राविमा कक्षा ३ मा अध्ययनरत रानीलाई निःशुल्क पढाउन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौड्यालले प्रतिबद्धता जनाएका थिए ।

साथै, प्रमुख अतिथि पौड्यालले अतिविपन्न १५० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा विद्यालयलाई २ थान खेलकुद सामग्री वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer