२०८१ बैशाख १७ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

छात्रामाथि कुटपिट गर्ने मंगलमय माविका प्रधानाध्यापक बगाले निलम्बित


बिर्तामोड, चैत २६ । फेसबुकमा कमेन्ट गरेको निहुँमा विद्यार्थीलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने झापाको कमल गाउँपालिका–५ पाडाजुँगीस्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनकुमार बगाले निलम्बनमा परेका छन् ।

एक साताअघि कक्षा ११ मा अध्ययनरत छात्रा निर्जला बाँस्कोटालाई बगालेले फेसबुकमा कमेन्ट गरेको निहुँमा मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।

पीडित विद्यार्थीले प्रहरीमा उजुरी गरेपछि अभियोगमाथि प्रहरीले छानबिन गरिहेको हुँदा निज आरोपी बगालेलाई मुद्दा किनारा नलागेसम्म जिम्मेवारीबाट तत्काल निलम्बन गरिएको हो ।

बगाले निलम्बनमा परेपछि सहायक प्रधानाध्यापक डम्बरुप्रसाद पोखरेललाई कार्यसम्पादन गर्न जिम्मेवारी दिने निर्णय गरिएको गाउँपालिकास्तरीय शिक्षा समितिका संयोजक समेत रहेका पालिका अध्यक्ष हुकुमसिंह राईले जानकारी दिए ।

शिक्षा नियमावली २०५९ को नियम १४१ मा भएको व्यवस्थाअनुसार आरोपी बगाले अभियोगबमोजिम स्वतः निलम्बनमा परेको हुँदा निजले दैनिक कामकाजको जिम्मेवारी अर्को व्यवस्था नभएसम्म पोखरेलले गर्न अख्तियारी प्रत्यायोजन दिने निर्णय भएको गाउँपालिकाले निकालेको सूचनामा उल्लेख छ ।

विद्यार्थी निर्घात कुटपिटको घटनालाई लिएर चौतर्फी आलोचना भएपछि शिक्षा समितिको बैठकले कमल–५ का वडा अध्यक्ष लालबहादुर विष्टको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

सो छानबिन समितिले आइतबार नै शिक्षा समितिलाई प्रतिवेदन बुझाएको थियो । तर, गठित छानबिन समितिको प्रतिवेदन बाहिर आएको छैन ।

स्रोतका अनुसार सोही प्रतिवेदनउपर थप छलफल गरेर बगालेविरुद्धको मुद्दा इलाका प्रहरी कार्यालय दमकमा अनुसन्धान भइरहेको हुँदा मुद्दा किनारा नलागेसम्म विद्यालय नियमित सञ्चालनमा अवरोध नपुर्याइदिन हुन सूचनामा भनिएको छ ।

कमल गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको दुई महिना नबित्दै सो विद्यालयमा छात्रामाथि कुटपिटको घटना बाहिर आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer